चन्द्रपुर,१५ असोज ।
डिभिजन वन कार्यालय रौतहटका एक जना सहायक वन अधिकृतले ४ लाख घुस नदिँदा एक जनाको ट्याक्टर दुई वर्षदेखि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा थन्किएको छ । ६४ क्युफिट काठ सहित बरामद भएको सो ट्याक्टर छाड्नका लागि डिभिजन वन कार्यालय रौतहटका एक सहायक वन अधिकृतले ४ लाख रकम घुस मागेका थिए ।
प्रदेश दुई–०३००१ त ३२८३ नम्बरको ट्याक्टरमा धनसर क्षेत्रमा ६४ क्युफेड कार्ड सहित बरामद भयो भन्दै ट्रेक्टर नियन्त्रणमा लिएको थियो । दुई वर्षसम्म डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले बिगो दाबी सहित सो ट्याक्टरको विषयमा मुद्दा समेत दर्ता गरेको छैन ।
दुई वर्षदेखि मुद्दा नै दर्ता नगरी ट्रेक्टर डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा राखेका कारण कुहिएर जाने अवस्थामा पुगेको छ । ट्रेक्टर छाडिदिनुपर्यो हजुर म त गरिब मान्छे भन्दै डिभिजन वन कार्यालयमा पुगेका ट्रेक्टर धनी कालुमान वाइबालाई डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका सहायक वन अधिकृत अशोक यादवले चार लाख दिनुस् म ट्याक्टर छाडिदिन्छु भनेका थिए ।
सो ट्रेक्टर छाड्नका लागि ४ लाख घुस माग्ने सहायक वन अधिकृत यादव यतिबेला छुट्टी लिएर अमेरिकामा रहेका छन् । डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले सो टेस्टर बरामद गरेपछि त्यसमा कानुनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा फाइल पुर्याउनुपर्नेमा अहिलेसम्म सो ट्रेक्टरको विषयमा मुद्दा समेत नचलाएको ट्रेक्टर धनी वाइबाले गुनासो गरेका छन् ।
बेवारिसे अवस्थामा फेला परेको भन्दै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले दुई वर्ष अगाडि नियन्त्रणमा लिएको सो ट्रेक्टरबाट ६४ क्यु फिट काठ बरामद भएको ट्रेक्टर धनी वाइबाले जानकारी दिएका छन् । वाइबाका अनुसार आफ्ना ट्रेक्टर चालकले लोभमा परेर थोरै काठ ट्रेक्टरमा लोड गरेको र त्यसैबेला वन कार्यालयले ट्र्याक्टर नियन्त्रणमा लिएको थियो ।
कानुन अनुसार ट्रेक्टर चालक अथवा ट्रेक्टर धनी डिभिजन वन कार्यालयको सम्पर्कमा आए उनीहरूलाई पक्राउ गरेर मुद्दा चलाउनुपर्नेमा डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत यादवले त्यसो गरेनन् । बरु उल्टै उनीहरूलाई कानुनी दायरामा ल्याउनुको साटो यादवले ४ लाख दिनुस् ट्रेक्टर छाडिदिन्छु भन्दै दुख दिइरहेका थिए । डिभिजन वन कार्यालय रौतहटका तत्कालीन प्रमुख सुनिल कर्ण र पछिल्लो समयका प्रमुख शैलेन्द्र मिश्रले समेत सामान्य प्रक्रिया पुर्याएर ट्रेक्टर छाडिदिन्छु भन्दै टारेको ट्रेक्टर धनीको गुनासो छ ।
सो ट्रेक्टरको विषयमा पछिल्लो समय आएका कार्यालय प्रमुखसँग भेट्न जाँदा उनले भेट गर्नै नमानेको वाइबाका आफन्तहरुले गुनासो गरेका छन् । सामान्य एउटा हरियो लाथ्रा काटेको भेटेमा वन मुद्दा लगाउने डिभिजन वन कार्यालय रौतहटले ६४ क्यु फिट काठसहित बरामद गरेको ट्रेक्टरको विषयमा किन मुद्दा चलाएन भन्ने कुरा यतिबेला गम्भीर रुपमा उठेको छ । डिभिजन वन कार्यालय रौतहटका एक जना सहायक वन अधिकृतका अनुसार सो विषयको सम्पूर्ण जिम्मा सहायक वन अधिकृत अशोक यादवको रहेको र उसैले मात्र केही गर्न सक्ने बताए । मुद्दा पनि नचलाउने र ट्रेक्टर पनि नछाड्नुले सहायक वन अधिकृत यादवको नियतमा खोट रहेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
पछिल्लो समय वन कर्मचारीहरूसँग सो विषयमा कुरा गर्दा उनीहरुले अशोक यादव अमेरिका गएको र उनी आएपछि मात्रै केही कुरा हुने भन्दै पन्छने गरेको ट्रेक्टर धनी वाइबाले गुनासो गरेका छन् । दुई वर्षदेखि आफूले ट्रेक्टर ल्याएको किस्ता समेत तिर्न नसकेको र आफ्नो ट्रेक्टर डिभिजन वन कार्यालयको कम्पाउन्ड भित्र रहेको वाइबाको गुनासो छ । ट्रेक्टर वनले नियन्त्रणमा लिएर नछाडेपछि ट्रेक्टरको किस्ता मागेर बैंकवाला घरमै पुग्न थालेपछि आफूले घर नै छाड्ने अवस्था आएको वाइबाले गुनासो गरेका छन् । सो विषयमा डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटका कुनै पनि कर्मचारी केही बोल्न चाहँदैनन् । २०८१ असोज १५ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।