गौर,१३ पुस ।
भूमि सम्बन्धी समस्या समाधान आयोग रौतहटको अध्यक्षका लागि नेकपा एमाले रौतहटले तीन जनाको नाम सिफारिस गरेर पठाएको छ ।
सो आयोगको रौतहट अध्यक्षका लागि नेकपा एमाले रौतहटको शुक्रबार बसेको सचिवालयको बैठकले तीन जनाको नाम सिफारिस गरेर पठाएको हो ।
भूमि सम्बन्धी समस्या समाधान आयोगको रौतहट अध्यक्षका लागि नेकपा एमाले रौतहटका अध्यक्ष सचिदानन्द शाह, नेकपा एमाले चन्द्रपुर नगर कमिटीका अध्यक्ष शिवप्रसाद आचार्य, वीर बहादुर गोलेको नाम सिफारिस गरेर पठाएको नेकपा एमाले रौतहटका सचिव बाबुराम दाहालले जानकारी दिएका छन् ।
भूमि सम्बन्धी समस्या आयोग र उच्चहटमा यतिबेला अध्यक्ष लगायतका पदहरु खाली रहेका छन् । ती पदमा सरकारमा रहेका नेकपा एमाले र नेपाली कांग्रेसका मान्छेहरु अध्यक्ष तथा सदस्य हुने बताइएको छ । रौतहट जिल्ला अध्यक्ष नेकपा एमालेले पाएको खण्डमा शाह आचार्य र गोलेमध्ये एकजनाले अध्यक्ष पद पाउनेछन् ।
सत्ता गठबन्धनको नेपाली कांग्रेसबाट समेत भूमि समस्या समाधान आयोग रौतहटको अध्यक्षका लागि विभिन्न नेताहरुले माथिल्लो निकायमा लबिङ बढाएको बुझिएको छ ।
जिल्ला अध्यक्ष पद नेकपा एमाले र नेपाली कांग्रेस कसले पाउने भन्ने यकिन नभए पनि अध्यक्ष बन्नका लागि दुवै पार्टीका नेताहरूको हानाथाप बढेको छ । २०८१ पुस १३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








