रौतहट,२१ माघ । भूमि समस्या समाधान आयोग रौतहटका अध्यक्ष वकिललेश्वर चौधरीले भूमि समस्या समाधानका लागि सबैको साथ आवश्यक रहेको बताएका छन् ।
सदरमुकाम गौरमा आज आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै भूमि समस्या समाधान आयो रौतहटका अध्यक्ष चौधरीले सबै राजनैतिक दलको सहयोगमा आफूले आफ्नो काम अगाडि बढाउने बताएका हुन् ।
गत माघ ४ गते चौधरीलाई सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग रौतहटको चारवर्षीय कार्यकालका लागि अध्यक्ष पदमा नियुक्त गरेको थियो । नापी कार्यालय गौर रौतहटमा आज एक कार्यक्रमका बीच पदभार ग्रहण तथा कार्यालयसमेत सञ्चालनमा आएको छ ।
सरकारले तोकेको नीति नियममा रहेर आफूले रौतहट जिल्लामा रहेका भूमिहीनहरुलाई भूमिपति बनाउने काममा आफू निष्पक्ष ढंगले लाग्ने अध्यक्ष चौधरीले बताएका थिए ।
पदभार ग्रहण कार्यक्रममा नेकपा एमाले रौतहटका इन्चार्ज अजय कुमार गुप्ता, नेकपा एमाले मधेश प्रदेश उपसचिव तथा भूमिसम्बन्धी समस्या समाधान आयोगकी केन्द्रीय सदस्य आरती भण्डारी, नेकपा एमाले रौतहटका उपसचिव अवदेश यादव, तथा विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।