चन्द्रपुर,१ साउन । भूगर्भीय पानीको मनपरी दोहनका कारण मधेश प्रदेशमा पानी संकटको खतरा बढ्दै गएको जल तथा वातावरण विज्ञहरुले चेतावनी दिएका छन् । पछिल्लो समय पर्सा जिल्लाको वीरगञ्ज क्षेत्रमा देखिएको पानीको हाहाकार यसैको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ ।
रौतहट जिल्लामा समेत नेताहरू र ठेकेदारहरूको सेटिङमा व्यापक रूपमा डिप बोरिङ गाड्ने काम भइरहेको छ । किसानको हितका नाममा भइरहेका यस्ता योजनाले राजनीतिक हस्तक्षेप, आर्थिक कमिशनको चलखेल र पर्यावरणीय जोखिम बढाइरहेको देखिन्छ ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहका अनुसार राजनीतिक प्रभावमा मनलाग्दी डिप बोरिङ हालेका कारण भूगर्भीय जल स्रोत सुक्ने खतरा अत्यन्त गम्भीर बन्दै गएको छ । “आज डिप बोरिङ गाडेर तत्काल पानी त निकालिन्छ, तर दीर्घकालीन रूपमा यसले जमिनको सन्तुलन र कृषि उत्पादन दुवैमा गम्भीर असर पार्न सक्छ,” प्रमुख साहले भने ।
चन्द्रपुर नगरपालिका–८ का स्थानीय बासिन्दा जंगबहादुर थापाले सर्लाहीको कर्मैया उपभोक्ता जल आयोजना तथा ठेकेदार सुमन खडकाको मिलेमतोमा चपुर क्षेत्रमा डिप बोरिङ गाडिएको बताउँदै त्यसको छानबिनको माग गरेका छन् ।
उनका अनुसार डिप बोरिङ गाड्ने प्रक्रिया उपभोक्ता समितिको निर्णयविना गरिएको हो। “ठेकेदारलाई काम दिने कुनै माइन्युट छैन, दोहोरो सम्झौता छैन, न त प्राविधिक चेकजाँच गरेर कार्य सम्पन्न भएको प्रमाण नै छ,” थापाले बताए ।
स्थानीय स्रोतहरूका अनुसार डिप बोरिङ गाड्ने क्रममा न त ईस्टिमेट अनुसार काम भएको छ, न त गुणस्तर परीक्षण नै । कुनै पनि प्रकारको प्राविधिक प्रमाणीकरणबिना योजना सम्पन्न घोषणा गरिएका छन् ।
यसरी योजना निर्माणको नाममा दलहरू, स्थानीय समितिहरू र ठेकेदारबीचको सिण्डिकेटले भ्रष्टाचार र पारदर्शिताको अभाव त छँदैछ, साथै भूगर्भ जल स्रोतको दीर्घकालीन विनाशको खतरा पनि बढिरहेको विज्ञहरू बताउँछन् ।
स्थानीय नागरिक समाज, जल विज्ञ र सरोकारवालाहरूले योजनाको तत्काल अनुगमन गरी दोषीमाथि छानबिन र कारबाही गर्न माग गरेका छन् । भूजल संरक्षण र दीर्घकालीन पानी आपूर्तिको सुरक्षाका लागि वैज्ञानिक योजना र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उनीहरूको धारणा छ ।








