रौतहट,३१ साउन । रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित सन्तपुरदेखि वडा नम्बर ९ को नजरपुरसम्म जाने नहरको बाटो हिँड्नै नमिल्ने बनेको छ । स्थानीयका अनुसार आश्रय निर्माण सेवाले वडा नम्बर ८ को मुहरधरमा सञ्चालन गरेको क्रसर उद्योगबाट गिटी–बालुवा बोक्ने ठूला टिफरहरू नियमित रूपमा नहरको बाटो प्रयोग गर्दा सडकको अवस्था अत्यन्त जीर्ण भएको हो । बाटो हिलाम्मे र खाल्डाखुल्डी भएपछि पैदल यात्रु मात्र नभई साना सवारीसाधन सञ्चालन पनि कठिन भएको छ ।
स्थानीय गणेश तिमल्सिनाले भने, “यो बाटो मान्छे र साना सवारी साधनका लागि हो, तर यहाँ दैनिक गिटी–बालुवा बोक्ने ठूला टिफरहरू गुड्दा बाटो ध्वस्त भएको छ ।”
यो बाटो अत्यधिक साँघुरो र दुवैतर्फ खेत भएकोले पानी परेपछि चिप्लिने जोखिम झनै बढ्ने गरेको छ । राति वा कम दृश्यता हुने समयमा हिँड्नेहरूका लागि दुर्घटनाको सम्भावना अत्यन्त उच्च रहेको स्थानीयले चेतावनी दिएका छन् । “गाडी र मोटरसाइकल चिप्लिएर नहरमा खस्ने डर हुन्छ, कहिले दुर्घटना हुन्छ भन्ने त्रास छ,” एक स्थानीयले भने ।
सन्तपुरका बासिन्दा अमृत सापकोटाका अनुसार क्रसर उद्योगले बाटो मात्र बिगारेको छैन, धुलो–धुवाँका कारण स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न थालेको छ । “धुलोका कारण बुढापाका, बालबालिकासहित सबैलाई सास फेर्न गाह्रो भएको छ, तर जनप्रतिनिधिहरू मौन छन्,” सापकोटाले भने । यस विषयमा सम्बन्धित निकायले अहिलेसम्म कुनै ठोस कदम चाल्न नसकेको स्थानीयको गुनासो छ । उनीहरूले तत्काल बाटो मर्मत, क्रसर उद्योगको अनियमित सञ्चालन नियन्त्रण र नहरको बाटोमा ठूला सवारीसाधनको आवतजावत रोक्न माग गरेका छन् ।