गौर,१० भदौ ।
रौतहट जिल्लामा तस्करी दिनप्रतिदिन बढ्दो क्रममा छ । भारतसँगको खुला सिमाना र कमजोर निगरानीका कारण यहाँ खाद्यान्नदेखि लिएर सुन, औषधि, मदिरा, कपडा र सुर्तीजन्य पदार्थसम्म सजिलै ओसारपसार हुँदै आएको स्थानीयवासीहरूको गुनासो छ । प्रहरी प्रशासनका कतिपय निकायमा हुने मिलेमतो, भन्सार प्रणालीको कमजोरी र राजनीतिक संरक्षणका कारण तस्करी नियन्त्रणमा आउन नसकेको भन्दै जिल्लावासी आक्रोशित छन् । आइतबार राति मात्र ईशनाथ नगरपालिका–४ मठियास्थित रामसिंह चनौको भट्टी पसलबाट ठूलो मात्रामा अवैध सुर्ती बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेडक्वाटरका गणपति एसपी सन्तोषकुमार बस्नेत र बीओपी औरैयाबाट खटिएको टोलीले सहायक प्रहरी निरीक्षक खेमराज जोशीको कमाण्डमा ३० बोरा सुर्ती तथा सुर्तीजन्य पदार्थ नियन्त्रणमा लिएको हो । बरामद गरिएको सुर्ती तत्काल कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको छ भने यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तर, जिल्लावासीहरूको ठम्याइमा यो कारबाही पनि “अपवाद” मात्र हो । किनभने रौतहटको विभिन्न नाकाबाट भन्सार छली हुँदै दैनिक लाखौँ रुपैयाँ बराबरको सामान भित्रिन्छ, तर प्रहरी–तस्करबीचको मिलेमतोका कारण प्रायः यस्ता सामान सुरक्षित रूपमा गन्तव्यमा पुग्छन ्। यसपालि भने प्रहरीसँग ‘सेटिङ’ नमिलेकै कारण ३० बोरा सुर्ती बरामद भएको हो भन्ने धारणा स्थानीयस्तरमा छ । जिल्लामा खुलेआम सुनदेखि नुनसम्म तस्करी हुने गरेको तथ्य आफैंमा गम्भीर हो, तर त्यसबारे राज्यको आँखा चिम्लिएको जस्तो देखिन्छ ।
तस्करीका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ । तर, नियन्त्रणका लागि जिम्मेवार निकायहरू बेवास्तापूर्ण देखिनु अर्को विडम्बना हो ।
रौतहटमा तस्करी “पेसा” सरह बनिरहेको छ । गाउँ–गाउँमा भारतीय सामान सजिलै पाइन्छ र स्थानीय बजारमा वैधभन्दा बढी अवैध सामानको प्रभुत्व बढेको छ । यसरी खुलेआम हुने अवैध कारोबारले एकातिर राज्यलाई आर्थिक घाटा पु¥याइरहेको छ भने अर्कोतर्फ स्थानीय उत्पादन र बजार प्रणालीलाई नै कमजोर बनाइरहेको छ ।
ईशनाथ–४ मठियाबाट बरामद भएको ३० बोरा सुर्ती एउटा सानो उदाहरण मात्र हो । वास्तविकता त के हो भने हरेक दिन सयौँ बोरा बराबरका सामान सीमा पार हुँदै सहजै भित्रिरहेका छन् । प्रशासनले कहिलेकाहीँ देखाउन मात्र कारबाही गर्ने तर मूल समस्या समाधान गर्नेतर्फ ध्यान नदिने प्रवृत्तिका कारण तस्करी नियन्त्रण गर्ने चुनौती झन् जटिल हुँदै गएको छ ।








