रौतहट – राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मधेस प्रदेशतर्फका सक्रिय नेता तथा चन्द्रपुर नगर क्षेत्रमा पार्टी विस्तारमा अग्रणी भूमिका खेलेका जनकराज भारतीले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेकाछन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै राजनीतिक जीवनबाट सन्यास लिएको बताएकाछन ।
भारतीले सामाजिक सञ्जालमार्फत एक सार्वजनिक सन्देश जारी गर्दै लेखेका छन् –
“आजदेखि मैले राजनीतिक जीवनबाट विश्राम लिएको छु। यो यात्रामा मैले धेरै कुरा सिकें, अनुभव बटुलेँ। तर अब मलाई लाग्छ, यो क्षेत्र मेरो लागि होइन। म अब आफ्नो परिवारलाई समय दिन चाहन्छु। आजसम्म साथ र सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन्छु। यो मेरो व्यक्तिगत निर्णय हो र यसले मेरो जीवनमा शान्ति ल्याउनेछ भन्ने विश्वास छ।”
रवि लामिछाने सभापति बनेसँगै पहिलोपटक रौतहटमा रास्वपाको संगठन विस्तारमा जुटेका भारतीले चन्द्रपुर नगर क्षेत्रमा पार्टीलाई जमिनमा उभ्याउन महत्त्वपूर्ण योगदान दिएका थिए। उनले अघिल्लो निर्वाचनमा प्रत्यक्ष रूपमा चुनावी प्रतिस्पर्धा गर्दै स्थानीयस्तरमा रास्वपाको संगठन विस्तारमा सक्रियता देखाएका थिए।
तर, आफ्नै पार्टीभित्रका गतिविधिबाट दिक्क हुँदै उनले राजनीतिक जीवनबाट अवकाश लिने घोषणा गरेका हुन्। उनी पार्टीका कार्यकर्तामाझ “रवि लामिछानेको विश्वासिलो पात्र”को रूपमा परिचित थिए।
उनको सन्याससँगै रास्वपाले मधेस प्रदेशमा विशेषगरी चन्द्रपुर नगर क्षेत्रमा पुनः संगठनात्मक संरचना पुनर समिक्षा गर्नु पर्ने आवश्यकता बढेको राजनीतिक विश्लेषकहरू बताउँछन्।