काठमाडौं । सामाजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाविरुद्ध जेन–जी युवाहरूले थालेको आन्दोलन हिंसात्मक बन्दै गएपछि देशभर १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ जना घाइते भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै १६ जनाको मृत्यु भएको छ। उपत्यकाबाहिरका प्रदर्शनमा ठूलो संख्यामा युवा घाइते भएका छन्।

संसद भवनतर्फ प्रदर्शनकारी प्रवेश गर्न थालेपछि बानेश्वर क्षेत्रमा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गरेपछि मृतक र घाइतेको संख्या बढ्दै गएको हो। काठमाडौंमा कर्फ्यू जारी भए पनि प्रदर्शनकारीले सडक छाडेका छैनन्।

पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तीव्र झडप भइरहेको मन्त्रालयले जनाएको छ।

विभिन्न अस्पतालको तथ्यांक

  • सिभिल अस्पताल : ३ मृत, १०० घाइते (१५ जना गम्भीर, ट्रमा सेन्टर र वीर अस्पताल रेफर)
  • ट्रमा सेन्टर : ८ मृत, ४९ उपचाररत (बिपद् योजना लागू)
  • वीर अस्पताल : ६ घाइते
  • एभरेष्ट अस्पताल : ३ मृत, ३४ उपचाररत (७ गम्भीर)
  • पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान : ४ घाइते
  • काठमाडौं मेडिकल कलेज (केएमसी) : २ मृत, ३२ घाइते (६ जनाको शल्यक्रिया आवश्यक)
  • त्रिवि शिक्षण अस्पताल : १ मृत, १८ घाइते
  • नर्भिक अन्तर्राष्ट्रिय अस्पताल : ३ घाइते
  • पोखरा (गण्डकी अस्पताल) : १ घाइते
  • पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान : २ घाइते
  • दमक, झापा : ७ घाइते

यसैबीच, इटहरीमा प्रहरीले चलाएको गोली लागेर थप २ जना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि भएको छ।