बाँके — बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा गएराति भएको झडपमा पाँच जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् ।

सुरक्षा स्रोतका अनुसार मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।

झडपका क्रममा प्रहरीको नियन्त्रण प्रयास भएपछि तनाव थपिएको बताइएको छ । घाइतेलाई तत्काल नेपालगञ्जस्थित भेरी अस्पताल पुर्‍याइएको थियो । त्यसमध्ये पाँच जनाको उपचारको क्रममा मृत्यु भएको र बाँकी दुई जनाको उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

देशभर चर्किएको जेनजी आन्दोलनको प्रभाव बाल सुधारगृहसम्म पुगेको थियो । सुधारगृहमा रहेका युवाहरू भाग्ने प्रयास गर्दा प्रहरीले रोक्न खोजेपछि झडप भएको बताइएको छ । केही युवा भाग्न सफल भएका छन् भने केही अझै सुधारगृहभित्रै रहेका छन् ।