रौतहटको गौर कारागारमा मंगलबार राति कैदीहरूले विद्रोह गर्दै तोडफोड गरेका छन्। २९१ मध्ये २४ बाहेक सबैले भाग्ने प्रयास गर्दा सयौँ कैदी फरार भएका छन्। ३० जनाभन्दा बढी पक्राउ परेका छन् भने बाँकीको खोजी नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त टोलीले गरिरहेको छ।

गौर (रौतहट) — जेनजी आन्दोलनका कारण दिनभर तनावग्रस्त बनेको रौतहटको सदरमुकाम गौरस्थित कारागार मंगलबार राति रणभूमि बनेको छ। कारागारमा भएको हुलहुज्जतपछि सयौँ कैदी फरार भएका छन्।

कारागारमा २९१ जना कैदीबन्दी रहेकामा २४ बाहेक सबैले तोडफोड गर्दै भाग्ने प्रयास गरेका थिए। सुरुवाती रूपमा ३० जनालाई प्रहरीले नियन्त्रणमा लिएको भए पनि अझै धेरै कैदी फरार रहेको पुष्टि भएको छ। प्रहरी स्रोतका अनुसार भागेकामध्ये केहीलाई भारततर्फ प्रवेश गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नियन्त्रणमा लिएको खबर आएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी नेत्रमणि गिरीले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले बाँकी फरार कैदीहरूको खोजतलास जारी राखेको जानकारी दिए।

मंगलबार दिनभर भएको आन्दोलनका कारण सुरक्षाकर्मी चर्को दबाबमा रहेका बेला कैदीहरूले परिस्थितिको फाइदा उठाउँदै कारागार तोडफोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।