रौतहट,२६ भदौ । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निजी सम्पत्ति राष्ट्रको नाममा सुम्पिएको र पद–प्रतिष्ठाभन्दा व्यवस्थाको रक्षा आफ्नो प्राथमिकता भएको बताएका छन् ।
राजधानीको शिवपुरीबाट जेनजी पुस्तालाई सम्बोधन गर्दै लेखिएको उनको पत्र एमाले निकट प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेले फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।
पत्रमा ओलीले वर्तमान व्यवस्थाको महत्त्व र त्यसप्रति आफ्नो अटल विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, “मेरो लागि पदमा रहने वा नरहने कहिल्यै ठूलो कुरा भएन । यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने र प्रश्न गर्ने अधिकार दिएको छ, त्यसको रक्षा गर्नु मेरो जीवनको मूल लक्ष्य हो । व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन ।”
सामाजिक सञ्जाल बन्द गर्ने ओली नेतृत्वको सरकारको निर्णयले सुरु भएको आन्दोलन भ्रष्टाचार विरोधी प्रदर्शनमा रूपान्तरण भएको थियो । सोमबारदेखि देशव्यापी बनेको आन्दोलनले दुई दर्जनभन्दा बढीको ज्यान लिइसकेको छ ।
मङ्गलवार आन्दोलन चर्किएपछि ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि नेपाली सेनाले उनलाई हेलिकप्टरमार्फत बालुवाटारबाट सुरक्षित स्थानमा पुर्याएको थियो ।
बुधवार शिवपुरीबाट लेखिएको पत्रमा ओलीले ‘प्रिय जेनजी बाबु नानीहरू’ लाई सम्बोधन गर्दै आफ्नो सम्पत्ति राष्ट्रलाई समर्पण गरेको र व्यवस्था जोगाउन आफू प्रतिबद्ध रहेको दोहोर्याएका छन् । उनले व्यवस्थाले प्रदान गरेको स्वतन्त्रताको रक्षा गर्न जेनजी पुस्तासँगै मिलेर अघि बढ्ने सङ्कल्प पनि व्यक्त गरेका छन् ।
यस्तो छ ओलीले जेनजीलाई लेखेको पत्र
प्रिय जेनजी बाबु नानीहरू,
आज शिवपुरीको यो एकान्त सुरक्षा घेराभित्र बसेर, नेपाली सेनाका जवानहरूको बिचमा, म तिमीहरूलाई सम्झिरहेको छु। मेरो मनमा तिमीहरूकै अनुहारहरू नाचिरहेका छन्। जहाँ गए पनि, जहिले पनि, साना नानीबाबुहरू मलाई देख्ने बित्तिकै मेरो काखमा आइपुग्छन्।
तिनीहरूको निश्छल हाँसो, त्यो सानो शरीरको न्यानो स्पर्शले मभित्र एउटा अद्भुत आनन्द भर्छ। मलाई बच्चाहरूको वरिपरि रहन पाउँदा साँच्चिकै रोमाञ्चित महसुस हुन्छ। सायद तिमीहरूलाई थाहा छैन, व्यवस्था परिवर्तनको त्यो कठोर लडाइँमा, त्यो बेलाको सत्ताले दिएको निर्मम यातनाका कारण मेरा आफ्ना सन्तान भएनन्। तर पनि, ुबाु बन्ने मेरो रहर कहिल्यै मरेन, कहिल्यै सेलाएन।
जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुराहरू सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।
तैपनि, मैले सधैँ समाजमा शान्ति स्थापित हुनुपर्छ भन्ने मान्यता राखेँ।
तिमीहरूलाई याद होला, २०५१ सालमा जब म गृहमन्त्री थिएँ, त्यो मेरो कार्यकालमा राज्यको तर्फबाट एउटा पनि गोली चलेन। म सधैँ शान्तिको पक्षमा उभिएँ, किनकि मैले आफ्नै जीवनमा हिंसाको क्रूरता भोगेको छु।
त्यो दोस्रो दिनको आन्दोलन, जति विध्वंसात्मक भयो, मलाई विश्वास छ, तिमीहरूका कोमल हातहरूबाट त्यस्तो भएको होइन।
तिमीहरूको निर्दोष अनुहार देखाएर, तिमीहरूको भावनामाथि खेलेर गलत राजनीति गर्ने प्रयास भइरहेको छ। देशका महत्त्वपूर्ण रेकर्ड भएका कार्यालयहरूमा आगजनी गर्ने, कारागारबाट कैदीहरू छोड्ने जस्ता गतिविधिहरू यत्तिकै भएका होइनन्।
यी सबै पछाडि गहिरो षड्यन्त्र लुकेको छ। यो व्यवस्था, जुन हामीले अनगिन्ती दुःख र बलिदानबाट ल्याएका हौँ, त्यो बेला हामी बोल्न पाउँदैन थियौँ, भेला जम्मा हुने छुट थिएन, प्रश्न गर्न पाइँदैन थियो। अन्धकारमय त्यो अवस्थासँग लडेर, सङ्घर्ष गरेर हामीले यो उज्यालो व्यवस्था ल्यायौँ।
आज तिमीहरूले आफ्नो आवाज उठाउन पाएका छौ, आन्दोलन गर्न पाएका छौ भने त्यो यही व्यवस्थाको देन हो। आज यो व्यवस्थाको नै कत्लेआम गर्ने प्रयास भइरहेको छ, यसमा तिमीहरू संवेदनशील हुन जरुरी छ।
नानीबाबुहरू, स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए सायद यति अप्ठ्याराका बिचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला।
हाम्रो देशमा व्यापार गर्ने सामाजिक सञ्जालले यहाँको नियम मान्नुपर्छ र सूचीकरण हुनुपर्छ भनेर मैले जिद्दी नै गरेको हुँ। लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भनेर मैले जिद्दी नै गरेको हुँ। शास्त्रहरूमा उल्लेख भएअनुसार भगवान् श्रीराम भारतमा होइन, नेपालमा जन्मिएका हुन् भनेर मैले जिद्दी नै गरेको हुँ। यी जिद्दीहरूमा म पछाडि हटेको भए मैले अरू थुप्रै अवसरहरू पाउने थिएँ, थुप्रै कुरा हासिल गर्ने थिएँ। लिम्पियाधुरा समेटिएको नेपालको नक्सा संयुक्त राष्ट्र संघ मा नपठाएको भए या अरूले मलाई चलाउन चाहे अनुसार चलिदिएको भए मेरो जीवन अर्कै मोडमा पुग्ने थियो।
तर मैले त आफूसँग भएको सबै सम्पत्ति राज्यका नाममा गरिदिएको छु।
मेरो लागि पद, प्रतिष्ठा कहिल्यै महत्त्वपूर्ण रहेन। पदमा रहने या नरहने भन्ने कुरा मेरा लागि कहिल्यै ठूलो भएन।
मेरो लागि सबैभन्दा महत्त्वपूर्ण त यो व्यवस्था जोगाउनु हो। यो व्यवस्था, जसले तिमीहरूलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ, यसलाई बचाउनु नै मेरो जीवनको मूल उद्देश्य हो। व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन भन्ने मैले विश्वास राखेको छु।
तिमीहरूको केपी शर्मा ओली, शिवपुरी