रामेछाप — रामेछाप जिल्ला कारागारमा बिहीबार बिहान कैदीबन्दीहरूले सामूहिक रुपमा भाग्न खोज्दा नेपाली सेनाले गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।

कारागारभित्र रहेका कैदीहरूले गेट तोडेर बाहिर निस्कन खोजेपछि सेनाले रोक्न प्रयास गरेको थियो। तर उनीहरू मुल गेटको ताला तोडेर बाहिरिन खोजेपछि बाध्य भएर गोली चलाइएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए।

गोली लागेर घाइते भएका १५ कैदीबन्दीको हाल रामेछाप अस्पतालमा उपचार भइरहेको छ।

घटनापछि कारागार परिसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चारैतिर घेरा हालेका छन्। कारागारमा अवस्था अहिले सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोलाकुमार भट्टले जानकारी दिएका छन्।

रामेछाप नगरपालिका–८, रामेछाप बजारस्थित कारागारमा ५० जनाको क्षमता भए पनि हाल करिब ३०० जना कैदीबन्दी राखिएका छन्।