जनकपुरधाम — जेनजी पुस्ताको आन्दोलनका क्रममा मधेस प्रदेश सभा सचिवालयमा भएको तोडफोड र आगजनीबाट करिब ३० करोड रुपैयाँ बराबरको क्षति भएको सभामुख रामचन्द्र मण्डलले बताएका छन्।
उनका अनुसार प्रदेशसभाका सातै दलका संसदीय दल कार्यालय, दलका सभापतिहरूका कार्यकक्ष, सभामुखको कार्यकक्षदेखि लिएर सचिवालयका अधिकांश शाखा पूर्ण रूपमा प्रभावित भएका छन्।
‘प्रदर्शनकारीहरूले कार्यालय क्षेत्रमात्र नभई गाडी र व्यक्तिगत सम्पत्तिमा समेत आक्रमण गरेका छन्,’ सभामुख मण्डलले भने। तोडफोडमा सचिवालयको एउटा हायस गाडीमा आगजनी गरिएको छ भने सभामुख मण्डलकै निजी गाडीको सिसा फुटाइएको छ।
कार्यालयभित्र रहेका फर्निचर, कम्प्युटर, ल्यापटप, टेलिभिजन, पंखालगायतका सामग्री जलाइएका वा लुटपाट भएको सभामुख मण्डलले जानकारी दिए।
उनले आफ्नो निवासमा समेत प्रदर्शनकारी प्रवेश गरी झन्डै तीन तोला सुनका गरगहना लुटेको दाबी गरे। ‘आक्रोशले यति चरम रूप लिनु निकै दुःखद् छ। सार्वजनिक सम्पत्तिको मात्र नभई मेरो निवासमा समेत आक्रमण भएको छ,’ उनले भने।
प्रदेश सभाभित्र रहेको मिडिया सेन्टरका कम्प्युटर र टेलिभिजनसमेत चोरी भएको सचिवालयले जनाएको छ। सभामुख मण्डलले आफू हाल जनकपुरधाम बाहिर रहेको जानकारी दिँदै फर्किएपछि दलका नेताहरूसँग छलफल गरी सचिवालय सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए।








