काठमाडौं । आफूलाई जेनजी अभियन्ता बताउँदै सरकारी कार्यालयका कर्मचारी र सर्वसाधारणलाई धम्क्याउने अर्जुनबहादुर शाहीले ठगी गरेको आरोपमा पीडितहरू सार्वजनिक रूपमा अगाडि आउन थालेका छन् । सामाजिक सञ्जालमार्फत उनका कर्तुतहरूको भण्डाफोर भइरहेको छ ।
पीडित श्रीकृष्ण फुयाँलले टिकटक लाइभमार्फत शाहीले आफूलाई लाखौं रुपैयाँ ठगेको खुलासा गरेका छन् । फुयाँलका अनुसार डेढ वर्षअघि शाही र उनको टिमसँग भेटघाट भएको थियो । अनलाइन टेलिभिजन सञ्चालन गर्दै आएका फुयाँलको कोठाबाट उनीहरूले दुई वटा क्यामेरा र लाइभ स्ट्रिमिङ उपकरण लगेका थिए ।
शाहीले त्यतिबेला फुयाँललाई एक लाख ८० हजार रुपैयाँ र दुई लाख रुपैयाँको चेक थमाइदिएका थिए । बाँकी रकम पछि दिने वाचा गरे पनि त्यसपछि सम्पर्कमा आएनन् ।
फुयाँलले उक्त चेक बैंकमा साट्न खोज्दा खातामा एक रुपैयाँसमेत नभएको पाएका थिए । जब उनले शाहीलाई सम्पर्क गरे, शाहीले ‘कोरियामा ठूलो कार्यक्रम भइरहेको छ, तपाईँ पनि आउनुहोस्’ भनेर प्रलोभन देखाएको फुयाँलको भनाइ छ । तर उनले नजान चाहेको बताएपछि शाहीले सम्पर्क नै तोडेका थिए ।
फुयाँलले भने, “सुरेन्द्र सई सरले भनेका थिए — यसको पहिले पनि गाडीको केस छ, त्यतिबेला पनि २० लाखको चेक लफडा परेको थियो।”
फुयाँलका अनुसार शाहीले त्यसअघि पनि वैदेशिक रोजगारका नाममा धेरैलाई ठगेका थिए । उनले बारम्बार सम्पर्क गर्दा पनि फोन नउठाएपछि अन्ततः फुयाँलले महाराजगञ्ज प्रहरी वृत्तमा चेक बाउन्सको मुद्दा दायर गरेका हुन् ।
“शाहीलाई खोज्दै जाँदा वैदेशिक रोजगार विभागको हिरासतमा भेटेँ,” फुयाँलले भने, “कोरिया पठाउने भन्दै ठगी गरेको अभियोगमा समातिएको रहेछ।”
उनका अनुसार शाही साढे पाँच महिना कालिमाटी प्रहरी वृत्तको हिरासतमा बसेपछि धरौटीमा छुटेका थिए र त्यसयता फरार छन् ।
फुयाँलले थपे, “जेनजी आन्दोलन सुरु हुनुभन्दा दुई साताअघि मात्रै उनी धरौटीमा निस्केका रहेछन् । अहिले त्यही आन्दोलनको अग्रपंक्तिमा देख्दा म आश्चर्यचकित छु । आवश्यक परे सबै प्रमाण प्रस्तुत गर्न तयार छु ।”








