कलैया।
बारा जिल्लाको सदरमुकाम कलैया बजार क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा एक्कासी वृद्धि भएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय नजिकैको संवेदनशील क्षेत्रबाट समेत सरकारी मोटरसाइकल चोरी भएको घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।
सरकारी मोटरसाइकल नै चोरी
कलैया उपमहानगरपालिका वडा नं. १ स्थित पानिटंकी क्षेत्रको ऐन सेल सेन्टर अफिस नजिक रहेको गल्लीबाट सरकारी कार्यालयको नाममा दर्ता भएको मोटरसाइकल चोरी भएको हो।
गत भदौ १२ गते राति करिब ९:३५ बजे पार्किङ गरिएकाे अवस्थामा ना. १ व ३५६५ नम्बरको रातो–कालो बजाज पल्सर १५० टिडि (चेचिस नम्बर MD2A11CY) मोटरसाइकल चोरी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उक्त मोटरसाइकल कलैया उपमहानगरपालिकाको स्वामित्वमा रहेको र रोजगार सेवा केन्द्रका शाखा प्रमुख विवेक गुप्ताको घर अगाडि पार्किङमा राखिएको थियो।
सुरक्षामाथि प्रश्न
जिल्ला प्रशासन र प्रहरी कार्यालयको नाकामुनिबाटै चोरीका घटना बढ्दै जानुले सदरमुकामको सुरक्षा अवस्था अत्यन्त कमजोर भएको संकेत गरेको छ।
स्थानीय बासिन्दाले निरन्तर बढिरहेका चोरीका घटनाले असुरक्षित महसुस भएको बताएका छन्। उनीहरूले चोरहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।
प्रहरीको अनुसन्धान जारी
जिल्ला प्रहरी कार्यालयले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। तर, चोरी भएको लामो समय बितिसक्दा पनि कुनै सुराक नफेला परेको भन्दै स्थानीयवासी निराश बनेका छन्।
सरकारी सम्पत्ति नै सुरक्षा निकायको नाकामुनिबाट चोरी हुनु प्रहरीको गस्ती र सतर्कतामाथि ठुलो प्रश्नचिन्ह बनेको छ। यस घटनाले कलैयाको शान्ति–सुरक्षा अवस्थामाथि गम्भीर चुनौती देखाएको छ।








