नवलपुर — हुप्सेकोट प्रहरी चौकीमा तोडफोड र आगजनी गरेको अभियोगमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार भदौ २४ गते चौकीमा प्रवेश गरी कार्यालयका सामग्री तोडफोड तथा आगजनी गर्ने सात जनालाई पक्राउ गरिएको हो।
पक्राउ परेकाहरूलाई नवलपुर जिल्ला अदालतमा पेश गरी चार दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरूले चौकीभित्र रहेका फर्निचर र प्रहरी चौकीसँगै रहेको गाउँपालिका कार्यालयका सवारी साधनमा समेत आगजनी गरेको खुलेको छ।
प्रहरीका अनुसार पक्राउ परेकामा हुप्सेकोट गाउँपालिका–१ का नरबहादुर विक (३०), चुमबहादुर राना (३२), मिनबहादुर थापा (४२), अमरबहादुर कामी (३८), ईश्वर सिंह ठकुरी (१८), होमबहादुर थापा क्षेत्री (१९) र शुबलाल थापा (३८) रहेका छन्।
उनीहरूविरुद्ध अपराधिक प्रवेश तथा अपराधिक उपद्रव शीर्षकअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








