काठमाडौँ । मधेस प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको विषय अझै अन्योलमै रहेको छ । कांग्रेस संसदीय दलका नेता कृष्ण यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता जितेन्द्र सोनल आ–आफ्नो अडानबाट पछि नहटेपछि सरकार गठन प्रक्रिया लम्बिएको हो ।

मधेस प्रदेशका प्रमुख सुरेन्द्रलाल लाभले आज साँझ ५ बजेसम्म सरकार गठनका लागि समयसीमा दिएका छन् । यसअघि एमाले संसदीय दलका नेता सरोज यादवले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, नेकपा (एस), लोसपा, जनमत पार्टी लगायतका दलहरू नयाँ मुख्यमन्त्री चयनका लागि निरन्तर छलफलमा छन् ।

तर कांग्रेस नेता यादव र लोसपा नेता सोनलबीच सहमति नजुट्दा सरकार गठन टुंगोमा पुग्न सकेको छैन । दलहरू अहिले पनि समूह–समूहमा छुट्टाछुट्टै छलफलमा जुटिरहेका छन् ।

कांग्रेस नेता कृष्ण यादवले आफ्नै दलले मुख्यमन्त्री नपाए विपक्षमा बस्ने स्पष्ट चेतावनी दिएका छन् । उनले भने,
‘ठुलो दलको हैसियतले मुख्यमन्त्री हामीले नै पाउनुपर्छ । यदि हामीले नपाए विपक्षमा बस्छौँ ।’

स्रोतका अनुसार एमालेले कांग्रेसलाई मुख्यमन्त्री बनाउने प्रस्ताव गरिसकेको छ । कांग्रेस र एमाले मिल्दा सरकार बनाउन आवश्यक ९ सिट मात्र पुग्ने र कुनै एउटा सानो दलको समर्थन पाए सहजै सरकार बन्न सक्ने देखिन्छ । यसले अन्य मधेसवादी दलहरूलाई थप चिन्तित बनाएको छ ।

कांग्रेस र एमाले बाहेकका ६ दलसँग जम्मा ५१ सिट मात्र रहेकाले सरकार गठनका लागि आवश्यक ५४ सिट पुर्‍याउन कठिन देखिएको छ । त्यसैले कांग्रेस गठबन्धनबाट बाहिरिए मधेसवादी दलहरूलाई सरकार बनाउन झन् गाह्रो पर्ने अवस्था आएको छ ।

जसपा नेपालका एक प्रदेश सांसदले भने,
‘हामी मधेसवादी दलकै तर्फबाट मुख्यमन्त्री बनोस् भन्ने चाहन्छौँ । त्यसका लागि लोसपालाई समर्थन गरेका छौँ । माओवादी र नेकपा (एस) पनि सहमत छन् । तर कांग्रेसलाई बाहिर राखेर सरकार बनाउन निकै अप्ठेरो देखिएको छ ।’

हाल लोसपा नेता जितेन्द्र सोनल मुख्यमन्त्रीको बलियो दाबेदारका रूपमा देखिएका छन् । तर कांग्रेसले आफ्नो अडान कायम राखेपछि उनलाई मुख्यमन्त्री बनाउने सम्भावना कमजोर बन्दै गएको छ ।

त्यसैगरी एमाले र कांग्रेसबीच सहमति भए सिके राउत नेतृत्वको जनमत पार्टीले पनि समर्थन गर्न सक्ने सम्भावना रहेको कांग्रेसका एक नेताले बताएका छन् ।