रौतहट, १९ मंसिर ।
नम्बर प्लेट बिनानै सञ्चालनमा रहेका ई–रिक्सालाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिन थालेको छ । चन्द्रनिगाहपुर क्षेत्रमा दर्जनौं ई–रिक्सा बिना नम्बर प्लेट चलिरहेको विषयमा तराई एक्सप्रेस दैनिकले समाचार प्रकाशन गरेपछि ट्राफिक प्रहरीले यसप्रति चासो देखाउँदै कारबाही प्रक्रिया अघि बढाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नम्बर प्लेट बिना सञ्चालनमा रहेका ई–रिक्सालाई नियन्त्रणमा लिएर तत्काल नम्बर लेख्न लगाएर छाड्ने अभियान सुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख राजेन्द्र थापा मगरका अनुसार सवारी साधन दर्ता प्रक्रिया पूरा नगरी चलाइएका ई–रिक्साका कारण दुर्घटना जोखिम बढ्नुका साथै नियम कार्यान्वयनमा समस्या देखिएको छ । त्यसैले नियम विपरीत सञ्चालनमा रहेका सबै ई–रिक्सालाई क्रमशः नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गराउने अभियान चलाइएको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरीले आगामी दिनमा पनि यस प्रकारका कारबाहीलाई निरन्तरता दिने जनाएको छ ।