रौतहट,२१ पुस ।
लगातार बढ्दो जाडोका कारण रौतहट जिल्लाको जनजीवन कष्टकर बनेको छ। आज बिहानैदेखि रौतहटका विभिन्न क्षेत्रमा चिसो हावा बगेसँगै तापक्रम झनै घट्दा सर्वसाधारणको दैनिकी प्रभावित भएको हो।
विशेषगरी बिहान र साँझको समयमा बाक्लो चिसो हावा चल्दा सडक, बजार र गाउँबस्तीहरू सुनसान देखिन थालेका छन्। चिसोका कारण विद्यालय जाने बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू बढी प्रभावित भएका छन्। चिसो बढेसँगै रुघाखोकी, ज्वरो, दमजस्ता स्वास्थ्य समस्या देखिन थालेको स्थानीय स्वास्थ्यकर्मीहरूले बताएका छन्।
जाडोले सबैभन्दा बढी असर भने निम्न आय भएका तथा दिनभरि मजदुरी गरेर साँझको छाक टार्नुपर्ने गरिब, असहाय र निमुखा वर्गमा परेको छ। पर्याप्त न्यानो कपडा, ओढ्ने र बस्ने सुरक्षित स्थानको अभावमा उनीहरू खुला ठाउँ, फुसका घर वा अस्थायी टहरामा रात कटाउन बाध्य छन्। चिसोबाट जोगिन आगो ताप्दै बस्नेहरू बढेका छन् भने काम नपाएर दैनिक मजदुरहरू झनै समस्यामा परेका छन्।
जिल्लाका बजार क्षेत्रमा पनि जाडोको प्रभाव देखिएको छ। बिहानैदेखि पसल ढिलो खुल्ने, ग्राहकको आवागमन घट्ने जस्ता समस्या देखिन थालेका छन्। चिसोका कारण खेतबारीमा काम गर्ने किसानहरू समेत नियमित रूपमा काम गर्न नसकेको गुनासो गरेका छन्।
स्थानीय बासिन्दाहरूले चिसो अझै केही दिन बढ्ने अनुमान गर्दै सरकार तथा स्थानीय तहलाई असहाय र गरिब वर्गका लागि न्यानो कपडा, कम्बल तथा राहत सामग्री वितरण गर्न माग गरेका छन्। चिसोको जोखिम न्यूनीकरणका लागि स्थानीय तहले आगलागीबाट बच्न सावधानी अपनाउन र जाडोबाट जोगिन आवश्यक उपाय अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान अनुसार अझै केही दिन चिसो हावा चलिरहने सम्भावना रहेकाले विशेष सावधानी अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीहरूले न्यानो कपडा लगाउने, बिहान चिसोमा बाहिर ननिस्कने र स्वास्थ्यमा समस्या देखिएमा तत्काल स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरिएको छ।