रौतहट,२५ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर मधेस प्रदेशको राजनीतिक माहोल तातेको छ । एकातिर सर्वसाधारण शीतलहरको चपेटामा परिरहेका छन् भने अर्कोतिर कांग्रेस कार्यकर्ताबीच राजनीतिक सरगर्मी तीव्र बनेको छ । संस्थापन, शेखर कोइराला पक्ष र महामन्त्रीद्वय गगन थापा–विश्वप्रकाश शर्मा पक्षबीचको तानातानले महाधिवेशन प्रतिनिधिहरू दबाबमा परेका छन् ।
संस्थापन र शेखर पक्षले आफ्ना समर्थक प्रतिनिधिहरूलाई विशेष महाधिवेशनमा सहभागी नहुन खुलेर दबाब दिइरहेका छन् भने गगन–विश्वप्रकाश पक्ष प्रतिनिधिहरूलाई काठमाडौँ लैजान रणनीतिक संघर्षमा जुटेको छ । मधेसका आठवटै जिल्लामा प्रतिनिधिहरूको बहुमत आफ्नो पक्षमा पार्न दुवै समूह सक्रिय छन् । संस्थापन पक्ष मधेसबाट सहभागी संख्या घटाउने रणनीतिमा देखिएको छ भने गगन–विश्वप्रकाश पक्ष बढी प्रतिनिधि सहभागी गराउने प्रयासमा छ ।
विशेष महाधिवेशनको समर्थनमा मधेस प्रदेशबाट ठूलो संख्यामा हस्ताक्षर संकलन भए पनि पछिल्लो समय दबाबका कारण त्यो संख्या घट्दै गएको बताइन्छ । कांग्रेस संस्थापन पक्षका आरजु राणा, भानु देउवा तथा शेखर कोइरालाले फोनमार्फत महाधिवेशनमा सहभागी नहुन दबाब दिइरहेको आरोप छ । आग्रह अस्वीकार गरे आगामी निर्वाचनमा टिकट नदिने चेतावनीसमेत दिइएको कांग्रेस स्रोतको दाबी छ ।
महाधिवेशनको समय नजिकिँदै जाँदा संस्थापन पक्षले केन्द्रीय नेताहरूलाई समेत मधेसका जिल्लामा खटाएको छ । विमलेन्द्र निधि, आनन्द ढुंगानालगायतका नेताहरू प्रतिनिधिहरूलाई रोक्न मधेस झरेका छन् । उनीहरूले जिल्लास्तरमै फोन र भेटघाट गरेर महाधिवेशनमा नजान दबाब दिइरहेका छन् ।
जिल्लागत अवस्थालाई हेर्दा पर्साबाट पूर्व सांसद सुरेन्द्र चौधरी, बाराबाट पूर्वमन्त्री फर्मुल्लाह मन्सुरसहितका नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । सर्लाही र महोत्तरीमा गगन–विश्वप्रकाश पक्ष बलियो देखिएको छ । सर्लाहीमा सिंह दाजुभाइको प्रभावका कारण बहुमत प्रतिनिधि सहभागी हुने आँकलन छ । महोत्तरीमा पनि निवर्तमान सांसद महिन्द्र रायसहित प्रभावशाली नेताहरू महाधिवेशनको पक्षमा माहोल बनाइरहेका छन् ।
धनुषामा भने संस्थापन पक्षको सक्रियता बढेपछि गगन–विश्वप्रकाश पक्ष कमजोर देखिएको छ । यहाँ करिब २० प्रतिशत मात्रै प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । सिरहा र सप्तरीमा पनि उल्लेख्य संख्यामा प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् ।
संस्थापन र शेखर पक्षले मधेसबाट २० प्रतिशत हाराहारीमा मात्रै प्रतिनिधि सहभागी हुने दाबी गरिरहेका छन् भने गगन–विश्वप्रकाश पक्ष ५५ प्रतिशतसम्म प्रतिनिधि सहभागी हुने दाबी गर्दै आएको छ । मधेसमा बढ्दो असन्तुष्टि र नेतृत्वप्रतिको आक्रोशले विशेष महाधिवेशनको बहस थप चर्किएको देखिन्छ ।








