रौतहट,२७ पुस ।२०८१ साल असार २८ गते चितवनको सिमलतालस्थित त्रिशूली नदीमा खसेका दुई यात्रुवाहक बसमध्ये एक बसको अवशेष डेढ वर्षपछि फेला परेको छ। त्रिशूली नदीको किनारमा बालुवामुनि पुरिएको अवस्थामा बसको अवशेष भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उक्त दिन वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ आउँदै गरेको गणपति डिलक्स एकै समयमा त्रिशूली नदीमा खसेका थिए। दुर्घटनामा बसमा सवार बाराका ६ जनासहित कुल ६२ जना यात्रु बेपत्ता भएका थिए भने ३ जना यात्रुले नदी तरेर ज्यान जोगाउन सफल भएका थिए।
दुर्घटनापछि लामो समयसम्म गरिएको खोज तथा उद्धार कार्यबाट २४ जनाको मात्र शव फेला परेको थियो भने बाँकी यात्रु तथा सवारीसाधनको अवस्था अज्ञात रहँदै आएको थियो।
प्रहरीका अनुसार आज फेला परेको अवशेषको बनावट, रंग तथा अन्य प्राविधिक संकेतका आधारमा उक्त बस गणपति डिलक्स हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। यद्यपि, पूर्ण पहिचानका लागि थप प्राविधिक परीक्षण तथा अनुसन्धान भइरहेको जनाइएको छ।
डेढ वर्षपछि पुनः बसको अवशेष भेटिएपछि सिमलताल दुर्घटनाले फेरि एकपटक सबैलाई स्तब्ध बनाएको छ। पीडित परिवारले बाँकी बेपत्ता यात्रु तथा सवारीसाधनको खोजीलाई थप प्रभावकारी बनाउन माग गर्दै आएका छन्।
प्रहरीले घटनास्थल सुरक्षित राखी विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ।