रौतहट,१ फागुन । रौतहटको विशाल किराना पसल मा पेट्रोल किन्न आएका दुई युवकले नक्कली नोट प्रयोग गर्न खोजेपछि प्रहरी नियन्त्रणमा परेका छन्। घटना बिश्रामपुर बजार स्थित सोही पसलमा भएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा वृन्दावन नगरपालिका–२ बस्ने २९ वर्षीय दिनेश पटेल र बरहथवा नगरपालिका–१ बस्ने २० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। उनीहरूले पसलमा पेट्रोलको भुक्तानीका लागि एक हजार दरका नक्कली नोट प्रयोग गर्न खोजेको पसल सञ्चालकले शंका लागेको भन्दै प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएपछि बिश्रामपुर प्रहरी चौकी बाट खटिएको टोली घटनास्थल पुगेको र उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट एक हजार दरका १४ थान नक्कली नोट समेत बरामद गरिएको छ।
प्रहरीले नक्कली नोट कहाँबाट र कसरी ल्याइयो भन्ने विषयमा आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ। बरामद गरिएका नोट फरेन्सिक परीक्षणका लागि पठाइने र पक्राउ परेकामाथि मुद्रा अपराधसम्बन्धी मुद्दा दर्ता प्रक्रिया चलिरहेको प्रहरीले बताएको छ।
यस्तै, स्थानीय व्यापारीहरूलाई नक्कली नोटप्रति सचेत रहन सुझाव दिइएको छ। यसअघि पनि रौतहट तथा आसपासका क्षेत्रमा नक्कली नोटको गतिविधि देखिन थालेपछि प्रहरी प्रशासनले निगरानी थप कडा पारेको जनाएको छ।








