भारत–नेपाल सीमामा तस्करीको नयाँ रूप देखिएको छ। यसपटक सुनचाँदी होइन, फर्सीको बीउ नै ठूलो परिमाणमा ओसारपसार हुँदै गरेको अवस्थामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ट्रकसहित नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा एसएसबी ७१औँ बटालियन, मोतिहारीले चलाएको अपरेशनमा करिब ३६ लाख रुपैयाँ बराबरको फर्सीको बीउ बरामद भएको हो। घटनामा संलग्न दुई भारतीय नागरिक पक्राउ परेका छन्।
अनुसन्धान अनुसार बारा जिल्लाका विभिन्न नाकाबाट मोटरसाइकल प्रयोग गरी बीउ भारततर्फ भित्र्याइँदै थियो। ती बीउहरू बसवरिया गाउँ (घोडासहन क्षेत्र) मा जम्मा गरेर यूपी ४२ ईटी ७८६२ नम्बरको ट्रकमा लोड गरी दिल्ली पठाउने तयारी भइरहेको थियो।
एसएसबीले डीआरआई, मुजफ्फरपुरसँग समन्वय गरी घोडासहन–ढाका सडकखण्डमा विशेष निगरानी राखेको थियो। बुधबार राति करिब १० बजे लक्ष्मीपुर लौखन नजिक शंकास्पद ट्रक रोकेर जाँच गर्दा चालक र सहचालक नियन्त्रणमा परेका हुन्।
प्रारम्भिक सोधपुछमै बीउ दिल्ली लैजान लागिएको खुल्न आएको छ। नियन्त्रणमा लिएको ट्रकलाई रातभर एसएसबी क्याम्पमा राखी बिहीबार बिहान थप अनुसन्धानका लागि डीआरआई कार्यालय पठाइएको छ।
पक्राउ पर्नेमा उत्तर प्रदेश, फैजाबादका ३५ वर्षीय मोहम्मद हसिब र बाराबंकीका ३१ वर्षीय मोहम्मद सलमान रहेका छन्।
ट्रकमा करिब ३०० बोरा फर्सीको बीउ भेटिएको छ, जसको कुल तौल ११ हजार ५५० किलोग्राम रहेको छ। भारतीय बजारमा यसको मूल्य प्रति किलो ३२० रुपैयाँका दरले करिब ३६ लाख ९६ हजार रुपैयाँ आँकलन गरिएको छ।