रौतहट । चन्द्रपुर नगरपालिकाको चाँदीखोलामा भइरहेको नदीजन्य पदार्थको उत्खननमा सशस्त्र प्रहरीले आकस्मिक धावा बोल्दै आठवटा ट्र्याक्टर नियन्त्रणमा लिएको छ। बिहीबार बिहानै खोलामा पुगेको सशस्त्र प्रहरी टोलीले बालुवा बोक्दै गरेका ट्र्याक्टरहरू नियन्त्रणमा लिएर नगरपालिकाको जिम्मा लगाएको हो।
सशस्त्र प्रहरीका अनुसार चाँदीखोलाबाट अवैध रूपमा नदीजन्य वस्तु उत्खनन भइरहेको विशेष सूचनाका आधारमा कारबाही गरिएको हो। खोलाभित्रै पुगेका ट्र्याक्टरहरूलाई नियन्त्रणमा लिँदै प्रहरीले ‘अवैध उत्खनन रोक्ने अभियान’ चलाइएको दाबी गरेको छ।
तर, घटनाले अर्कै कथा पनि बाहिर ल्याएको छ। नियन्त्रणमा परेका ट्र्याक्टर चालकहरूले भने आफूहरूलाई अन्याय गरिएको गुनासो गरेका छन्। उनीहरूको आरोप छ—बालुवा बोकेका साना ट्र्याक्टरमाथि मात्रै कारबाही गरिएको छ, जबकि ठूला स्तरमा ढुंगा उत्खनन गर्ने ‘माफिया समूह’माथि भने सशस्त्र मौन बसेको छ।
“हामी त बालुवा मात्रै बोकिरहेका थियौं, तर खोलाबाट ठूला–ठूला ढुंगा निकाल्नेहरूलाई कसैले छोएको छैन,” एक ट्र्याक्टर चालकले आक्रोश पोख्दै भने, “सानालाई समात्ने, ठूलालाई छोड्ने खेल चलिरहेको छ।”
स्थानीयवासीहरू पनि यस घटनाप्रति सशंकित देखिएका छन्। उनीहरूका अनुसार चाँदीखोलामा लामो समयदेखि अवैध उत्खनन भइरहेको छ, तर सम्बन्धित निकायले ठूला खेलाडीहरूमाथि आँखा चिम्लिँदै आएको आरोप छ। बेलाबेला हुने यस्ता ‘कारबाही’हरू पनि देखावटी मात्र हुने गरेको उनीहरूको भनाइ छ।
नगरपालिकाले भने सशस्त्रबाट बुझिएका ट्र्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ। तर, वास्तविक रूपमा अवैध उत्खनन रोक्ने कि साना व्यवसायीलाई मात्र कारबाही गर्ने भन्ने प्रश्न फेरि उठेको छ।
चाँदीखोलाको यो घटना फेरि एकपटक देखाउँछ—नदीजन्य स्रोतको दोहनमा ‘ठूलाको सेटिङ, सानाको सेटिङ बिग्रिने’ पुरानै रोग अझै ज्यूँका त्यूँ छ।