वीरगञ्ज । अदालतबाट सजाय तोकिएपछि फरार रहेका ४७ जना प्रतिवादीलाई पर्सा प्रहरीले एकै महिनामा पक्राउ गरेको छ। फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले फागुन महिनाभरि विशेष अभियान चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका ती प्रतिवादीहरूले विभिन्न मुद्दामा अदालतबाट तोकिएको कुल १२ वर्ष ३ महिना कैद अझै भुक्तान गर्न बाँकी थियो। त्यस्तै उनीहरूबाट ३ लाख ४८ हजार ४ सय ५५ रुपैयाँ जरिवाना समेत असुल हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका फरार प्रतिवादीहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी कैद भुक्तान तथा जरिवाना असुलीका लागि सम्बन्धित कारागारमा पठाइएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गरिएको हो।
उनले फरार प्रतिवादीको खोजी तथा पक्राउ कार्यलाई प्रहरीले प्राथमिकतामा राखेर निरन्तरता दिने बताए।

“अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिलाई पक्राउ गर्ने अभियानलाई अझ सशक्त बनाइनेछ,” उनले भने।