रौतहट,८ भदौ । रौतहटको चेतनगर सब डिभिजन वन कार्यालय अन्तर्गत पर्ने जङ्गल क्षेत्रमा व्यापक चोरी–तस्करी बढ्दै गएको छ । स्थानीय बासिन्दाका अनुसार सो क्षेत्रमा तस्कर समूहले हरेक दिन रातको समयमा ठूलो मात्रामा काठ कटानी गरी ल्याउने गरेका छन् ।
तस्करी नियन्त्रण गर्ने जिम्मेवारीमा रहेका वन कर्मचारीकै मिलोमतमा तस्करी हुने गरेको स्थानीयको आरोप छ । उनीहरूको भनाइमा रातदिनजसो तस्कर सक्रिय रहे पनि सबडिभिजन वन कार्यालयले कुनै प्रभावकारी कदम चालेको देखिँदैन ।
स्थानीय बासिन्दाले सबडिभिजन वन कार्यालयका अधिकृत ललन राउत कुर्मीलाई पटक–पटक जङ्गलमा भइरहेको अवैध गतिविधि र काठ तस्करीबारे जानकारी गराउँदा समेत वास्ता नगरेको गुनासो गरेका छन् । एक स्थानीयले नाम उल्लेख नगर्ने सर्तमा भने,“हामीले जानकारी गराउँदा पनि कार्यालयले ध्यान दिएको छैन, बरु तस्करलाई मौन समर्थन गरेको जस्तो देखिन्छ,”
सो क्षेत्रमा हुने अनियन्त्रित काठ तस्करीले वन क्षेत्रमा ठूलो क्षति पुगेको छ भने पर्यावरणीय सन्तुलनमा समेत असर परेको छ । तर, यस विषयमा वन कार्यालय मौन बस्दा स्थानीयवासी आक्रोशित भएका छन् ।
यसरी वन कर्मचारीकै मिलोमतमा भइरहेको तस्करी तत्काल रोक्न माग गर्दै स्थानीयले सरोकारवाला निकायलाई चाँडो ध्यान दिन आग्रह गरेका छन् । केही दिन पहिला मात्रै सो क्षेत्रबाट डिभिजन वन कार्यालय रौतहटले सशस्त्र प्रहरीको सहयोगमा ८२ इन्च मोटा सिसौको काठसहित ट्रयाक्टर समातेका थिए तर, बिना कारबाही ट्रयाक्टर छोडियो समाचार स्रोतले जनाएको छ । ट्रयाक्टर सहित पक्राउ परेको काठ भने वनले लगतमा चढाएको वनस्रोतले जनाएको छ ।








