काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद अब सर्वोच्च अदालतसम्म पुगेको छ। गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको छ।
नेता पूर्णबहादुर खड्काको नेतृत्वमा देउवा समूह सर्वोच्च अदालत पुगेको हो। रिट निवेदन दर्ता प्रक्रियामा रहेको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन्।
उनका अनुसार विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको विधि–विधान विपरीत महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको दाबी गर्दै उक्त महाधिवेशनलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ। निर्वाचन आयोगले त्यही महाधिवेशनका आधारमा गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको निर्णय बदर गर्नुपर्ने माग रिटमा उल्लेख गरिएको छ।
कांग्रेसभित्रको सत्ता संघर्ष अब राजनीतिक सीमाभन्दा बाहिर निस्कँदै संवैधानिक र कानुनी लडाइँमा परिणत भएको विश्लेषण गरिएको छ। सर्वोच्चको फैसला कांग्रेसको भावी नेतृत्व र संगठनात्मक संरचनाका लागि निर्णायक हुने देखिएको छ।








