नायिका रेखा थापा फेसबुकमा धेरै लाइक कमाउने नेपाली नायिका हुन । रेखा थापाको फलोअर्सलाई छुन अरु नायिकालाई लामै समय लाग्छ । लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय नायिकालाई सामाजिक संजालमा दर्शकले रुचाएका छन । उनको फेसबुकमा ३३ लाख भन्दा बढी फलोअर्स देखिएका छन् । तर, नायिका रेखा थापाको चलचित्रले गरेको व्यापार भने निकै नै कमजोर छ । रेखाका पछिल्ला रिलिज चलचित्रहरु बक्स अफिसमा कमजोर हुदै जादा उनी कमजोर बनेको अनुमान लगाइएको छ । केही बर्ष अघिसम्म रेखालाई पोष्टरमा देख्दा पनि दर्शक हलसम्म उर्लिएका थिए तर, अहिले उनको क्रेज हलमा छैन ।
धेरै फ्यान कमाएकी अर्की नायिका हुन प्रियंका कार्की । जसको फेसबुक पेजमा लाइक गर्नेको संख्या २१ लाख भन्दा बढी छ । नायिका कार्की फेसबुक र इन्स्टाग्राममा बढी सक्रिय छिन । उनी सामाजिक संजाल राम्रोसंग चलाउन जान्ने नायिका हुन । तर, उनको सामाजिक संजालमा देखिएको क्रेज हलमा देखिएको छैन । उनको पछिल्लो रिलिज चलचित्र प्रेमदिवसले १० लाख ग्रस पनि मुश्किलले गर्न नसक्नु यसैको उदाहरण हो । उनको आजसम्म सोलो नायिकाको रुपमा खेलेका चलचित्र चलेका छैनन । सामाजिक संजालमा उनलाई पछ्याउने र उनको प्रशंसामा नथाक्ने फ्यान थुप्रै छन । तर ती फ्यान हल सम्म आकर्षित भएका छैनन ।नायिका केकी अधिकारीको फ्यान क्रेज पनि गज्जबको छ । केकी सामाजिक संजालमा विशेषगरि, राजनीतिक, सामाजिक,आर्थिक र समसामयिक बिषयमा कुरा गर्छिन । उनलाई पछ्याउनेको संख्या करिब १० लाख छ । केकी अधिकारी को बौद्धिकताको चर्चा पनि हुने गर्दछ । तर, विडम्बना उनलाई पछ्याउनेहरु नै उनको चलचित्र हेर्न हल सम्म पुग्दैनन । केकी अधिकारीले आज सम्म एउटै हिट चलचित्र दिन नसक्नुको कारण पनि यही नै हो । सामाजिक संजालमा लाइक आउनु र हलमा दर्शक आउनु फरक कुरा हो भन्ने यसबाट पनि वुझ्न सकिन्छ ।