रुपेन्द्र पटेल, २५ असार,रौतहट
मानव सुचांकमा पछाडि परेको रौतहट जिल्लामा बाल र मातृ मृत्युदर घटाउन संचालित सुनौला हजार दिन कार्यक्रम अन्तर्गत चन्द्रपुर नगरपालिले तीन वटा वडामा सुनौला हजार दिनका महिला लाई कुखुरा, घिउ, बीउ बितरण गरेको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडानम्बर ७, ८, र ९ नम्बर वडाका २ सय ७० जना सुनौला हजार दिनका महिला लाई कुखुरा, घिउ र तरकारीको बीउ बितरण गरेको हो । विपन्न तथा सिमान्तकृत वर्गका गर्भवती महिला तथा २ वर्ष मुनिका बच्चाहरुलाई पोषण प्रदान गर्ने उद्देश्यले कुखुरा, घिउ र तरकारीको बिउ बितरण गरेको चन्द्रपुर नगरपालिकाको बहुक्षेत्रीय पोषण योजनाका संयोजक सागर साहले बताउनु भयो । महिलाहरुलाई गर्भधारण गरेको समयदेखि शिशु जन्मेको दुई वर्षको अवधीसम्म चाहिने आवश्यक पौष्टिक तत्वको लागि यो अभियान चलाइएको हो ।
यो अभियानले जनचेतना जागृत हुने बिश्वास लिइएको छ । बिपन्न बर्गका किशोरी तथा गर्भवती महिलाहरुलाई यो कार्यक्रमले फाईदा पुग्ने जनाइएको छ । बर्षभरी अण्डा दिने कुखुरा सुनौलो हजार दिनका महिला लाई बितरण गरेको र सो कुखुरा पालन गरेर दैनिक अण्डा सुनौलो हजार दिनका महिला लाई पोषणयुक्त रुपमा खानु पर्ने छ । युरोपेली सङ्घ र संयूक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को सहकार्यमा उक्त कुखुरा, घिउ, बीउबिजन बितरण गरिएको हो । ‘सुनौला हजार दिन’ भन्नाले महिला गर्भवती भएदेखि बच्चा दुई वर्ष हुदाँ सम्मको अवधिलाई मानिएको छ । सो बितरण अभियानले गर्भवती, सुत्केरी आमा र बच्चाको स्याहारमा मद्धत पुग्ने बिश्वास लिइएको छ । नेपालमा ३७ प्रतिशत बालबालिका दीर्घकालीन कुपोषण पुड्कोपन बाट पीडित रहेका छन ।