उपेन्द्र गोले / चन्द्रपुर,१ पुस । रौतहटमा स्थानीय तहले अपेक्षित काम गर्न नसकेको गुनासो सर्वसाधारणले गर्न थालेका छन । गाउंगाउंमा विकासका लहर आउने आशामा हौसिएका रौतहटबासीमा त्यसको अनुभूति नभएपछि निराशा देखिएको हो ।
स्थानीय तहमा आर्थिक अनियमितता बढेको र बजेट अनुसार विकास निर्माणका काम नभएको स्थानीयको भनाइ रहेको छ । देशका हरेक टोलटोल र गाउँगाउँमा स्थानीय सरकारहरु खडा भएका छन ।
तर विकास निर्माण र सेवा सुविधाको स्थिति परिवर्तन नहुँदा रौतहटका अधिकांश ठाउँका स्थानीयवासीमा आक्रोश बढ्दै गएको छ । सीमित स्रोत र साधनका कारण अपेक्षा गरिए अनुसार काम गर्न नसक्नु स्वाभाविक भएपनि गर्न मिल्ने र गर्न सकिने खालका कैयौ काम नभएपछि जनतामा असन्तुष्टि देखिएको हो ।
गाउ वस्तीमा विकास र परिवर्तन हुनुको साटो जनप्रतिनिधि र तिनका आसेपासेले त्यसबाट लाभ लिइरहेको धेरैको गुनासो देखिएको छ ।
स्थानीय तह स्थापित भएपछि कामहरु सन्तोषजनक नदेखिएको र आर्थिक अनियमितता बढ्दै गएको स्थानियको ठहर रहेको छ ।
विकास निर्माणका लागि छुट्टाइएको रकम हिनामिना र अनिमित हुने भएकोले काम प्रभावकारी हुन नसकेको उनीहरु बताउछन् ।
यद्यपी, सबै ठाउँका जनप्रतिनिधि उस्तै भने छैनन् ।कतिपय जनप्रतिनिधिले इमान्दार बनेर गम्भीरताका साथ काम गरेपनि त्यसको परिणाम तत्काल नदेखिएको भने सांचो हो तर धेरै ठाउंमा स्पष्ट नीति योजना र इमान्दारिताको भने कमी नै देखिएको छ ।
स्थानीय सरकार आएपछि नयाँ संरचना र कर्मचारी अभाव लगायतका कारणले जनताको आकांक्षा र आवश्यकता अनुरुप काम नभएको स्थानिय तहका प्रमुखहरुको भनाइ रहेको छ ।