गरुडा,९ चैत्र / रौतहटको कटहरिया नगरपालिका–९, डुमरियास्थित बाबा बैजुनाथ सुगर एन्ड केमिकल्स उद्योग यस वर्ष ६ लाख ८ हजार क्वीन्टल उखु क्रसिङ गरी बन्द भएको छ । मंसिर २९ गतेदेखि सञ्चालनमा आएको मिलले फागुन २५ गतेसम्म उखु क्रसिङ गरेर बन्द भएकोे हो ।
यस वर्ष १५ लाख क्वीन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु उत्पादनमा कमी आएका कारण कम भएको उद्योगका अध्यक्ष बैजुप्रसाद बाबराले बताए । उद्योगले गतवर्ष परीक्षण उत्पादन गरेकाले ३ लाख ५६ हजार क्वीन्टल उखु क्रशिङ गरेको थियो, तर यस वर्ष लक्ष्यअनुसार उखु प्राप्त गर्न नसक्दा क्रशिङ पनि सो अनुसार हुन नसकेको हो ।
उखुखेतीप्रति कृषकको आर्कषण घट्दै गएका कारण उत्पादनमा कमी आएको उनको भनाइ छ ।
बाबा बैजुनाथ सु्गर एण्ड केमिकल्स उद्योगका अध्यक्ष बबराका अनुसार कृषकलाई प्रोत्साहन गरेर उखुखेती विस्तार गर्दै लैजाने योजना छ । उखु उत्पादन वृद्धि र विस्तार गर्न चाहनेका लागि मिलले बीउ, मल, औषधि तथा प्राविधिक सल्लाह कृषकलाई दिँदै आएको उनले बताए । अगामी वर्षमा उखुखेती विस्तार हुंदै जाने र लक्ष्यनुसार उखु क्रशिङ हुने उनको भनाइ छ । अन्य चिनी मिलले समयमा नै भुक्तानी नदिएका कारण उखुखेतीप्रति कृषक निराश भएको अध्यक्ष बबराले बताए । तर बाबा बैजुनाथले भने कृषकको रकम समयमै भुक्तानी दिने गरेको उनले दाबी गरे । यस वर्षको करीब ६० प्रतिशत रकम भुक्तानी भइसकेको छ, उनले भने, असारसम्ममा बा“की सबै भुक्तानी हुन्छ । कृषकको रकम भुक्तानीमा उद्योगले ढिलाइ नगर्ने उनको भनाइ छ । उद्योगको दैनिक ३० हजार क्वीन्टल उखु क्रशिङ गर्ने क्षमता छ । करीब ११ बिगाहा रहेको सो मिल गतवर्ष स्थापना भएको हो ।