अशोक पहाडी,
चन्द्रपुर,२४ मंसिर
डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको वनमा व्यापक रुपमा हानि नोक्सानी भएको छ ।
जिल्लाको रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समिति ,जंगलसहिया साझेदारी वन उपभोक्ता समिति र रंगपुर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनमा व्यापक रुपमा चोरी तस्करी भएको छ । चोर तस्कर समुहले वन चोरी तस्करीको लागि साईकललाई ६६ ईन्च गोलाईको काठ अटनेगरी मोडिफाई गरेर रौतहटको वनबाट हरियो सालको गोलिया चोरी तस्करी गर्ने गरेका छन् । केही समय पहिला सम्म टायर गाडा र ट्रेक्टरमा काठको चोरी तस्करी गर्ने समुह यतीबेला साईकलमा चोरी तस्करी गर्न सक्रिय रहेको छ ।
जिल्लाको बृन्दावन नगरपालिकामा पर्ने रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समितिको मातहतमा पर्ने वनबाट सर्लाही र रौतहटका काठ तस्करले करिव दुई दर्जन कांचा सालका रुख काटेर गोलिया बनाएर लगेका छन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख सुनिल कर्णले वन कर्मचारी चुनावमा खटेको बेला काठ चोरले रौतहटको राष्ट्रिय वन र साझेदारी वनबाट काठ चोरेर लगेको स्विकार गरेकाछन् । उनले भने काठ तस्कर समुहले वनमा कांचा सालका रुख काटेर गोलिया बनाएको भएपनि आफुहरुले बरामद गर्न सफल भएको दावी गरेकाछन् ।
चुनावको बेलामा मात्र रौतहटको रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनबाट दुई दर्जन बढी सालका रुख काटेर टुना बनाउदै साईकलमा राखेर लगेको फेला परेको छ ।
स्थानीय बासिन्दा अजय पटेलका अनुसार रामलाल बृन्दावन साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्ने वनबाट रौतहट र सर्लाहीका काठ तस्करले दैनिक रुपमा कांचा सालका रुख काटेर लाने गरेकाछन् ।
वन कर्मचारीको मिलेमतोमा रौतहटको वनमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । डिभिजन वन कार्यालय रौतहट अन्र्तगतको सव डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरको मातहतमा पर्ने रंगपुर साझेदारी वनमा पछिल्लो समय व्यापक रुपमा कांचा सालका रुख काटेर लाने क्रम बढेको स्थानीयको भनाइ रहेको छ । वन कर्मचारीकै मिलेमतो चोरले काटेका कांचा सालका रुख चन्द्रनिगाहपुरमै रहेका चिरान मिलमा बिक्रि बितरण हुने गरेको स्थानीयको भनाइ रहेको छ । रंगपुर साझेदारी वन क्षेत्रमा पछिल्लो समय दैनिक काचा सालका रुख काटेर लागे गरेको खबर आफुले पाएको चन्द्रपुर नगरपालिका वडानं ८ का वडा अध्यक्ष जितेन्द्र चौधरीले बताए ।
सहायक वन अधिकृत रामकेवल रायको संलग्नताका काठ चोरलाई चोरीको लाईन दिने गरेको जानकारहरुको भनाइ रहेको छ । जंगलसहिया साझेदारी वन उपभोक्ता समिति अन्र्तगतको चोचा वन क्षेबाट समेत चुनावको बेला दर्जनौ कांचा सालका रुख काटेर चोर तस्करले लगेको स्थानीय बासिन्दाको भनाइ रहेको छ ।
रौतहटको वनमा पछिल्लो समय आएर वन चोरी तस्करीमा संलग्नलाई पक्राउ गर्दा राजनैतिक दलका नेताहरुले छुटाउन दवाव दिने गरेका कारण समेत वन जोगाउन आफुहरुलाई हम्मे हम्मे परेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख कर्णको भनाइ रहेको छ ।
स्थानीयले वन कर्मचारीकै मिलेमतोमा रौतहटको वनमा रहेको बहुमुल्य जातको सालका काचा रुख काटेर चोर तस्करले लाने गरेको दावी गरेपछि वन कर्मचारीले भने प्रयाप्त वन कर्मचारीको अभावमा चोरी बढेको बताउदै आएकाछन् । सर्लाहीको बागमती नगरपालिकाबाट रौतहटको वनमा सालको काठ चोरी गर्न आएका ईश्वरी चौलागाईलाई आफुहरुले गएको मंगलबार मात्र काचो काठ सहित पक्राउ गरेको चेतनगर सव डिभिजन वन कार्यालयका प्रमुख बाल किशोर सिंहले जानकारी दिए । रौतहटको वनमा पछिल्लो समय काठ चोर तस्कर पक्राउ गर्नासाथ स्थानीय राजनैतिक दलका नेताले छुटाउन दवाव दिने गरेका कारण समेत समस्या भएको छ ।