चन्द्रपुर,१९ असोज ।
उत्पादन अभिवृद्धि, रोजगारी सिर्जना र उद्यमशीलता विकासका लागि नेपाल सरकारले ल्याएको सहुलियतपूर्ण कर्जा कार्यक्रममार्फत् प्रवाह भएको कृषि ऋणको दुरुपयोग भएको छ ।
कृषि ऋणको नाममा बैंकका प्रबन्धकसहितको मिलेमतोमा राज्यलाई ठग्ने कार्य भइरहेको छ । कृषि ऋणबाट घरजग्गा खरिद गर्न, गाडी, मोटरसाइकल किन्नलगायत अनुत्पादक क्षेत्रमा लगानी भइरहेको छ । अधिकांश सेवाग्राहीलाई कृषि ऋणको नाममा बैंकले कर्जा प्रवाह गरेर अनियमितता गरेको आरोप लागेको छ ।
साच्चै कृषकलाई भने चन्द्रनिगाहपुरमा रहेका निजी बैंकहरुले कृष ऋण प्रवाह नगर्ने गरेको गुनासो बढदै गएका बेला गरुडामा रहेको एनआईसि एशिया बैंकले नक्कली किसानलाई कृषिकर्जा प्रवाह गरेको खुलेको हो ।
मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखतविपरीत एनआईसी एसिया बैंक गरुडाले रकम थपेर ऋणीलाई कर्जा प्रवाह गरेको खुलेको छ । मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित लिखतमा लाखमा खरिद गरेको जमिनलाई एनआईसी एसिया बैंक गरुडाले केरमेट गरेर करोड बनाएर कर्जा प्रवाह गरेको खुलेको छ ।
सरकारी कार्यालयमा पेस भएको कागजमा आफैंले सच्याएर किर्ते गरेको आरोपसमेत लागेकोे छ । सेवाग्राहीसँगको मिलेमतोमा बैंक प्रबन्धकले मालपोतको लिखतमा आफैंले रकम थप गरेको पाइएको हो । चन्द्रपुर नगरपालिका–२ साविक जुडिबेला गाविस–८ को कित्तानम्बर ३ सय ७५ को ८ कट्ठा क्षेत्रफलको जमिन चिन्टु रायले ०७९ माघ २९ गते २९ लाख ५ हजारमा खरिद गरेको मालपोत कार्यालयको पारित लिखतमा उल्लेख छ भने सोही क्षेत्रफलको जमिनलाई एनआईसी एसिया बैंक गरुडाले ऋण स्वीकृत गर्न लिखतमा अगाडि आफैंले २ थपेर खरिद मूल्य २ करोड २९ लाख ५ हजार देखाई कर्जा प्रवाह गरेको खुलेको छ ।
यस्तै, चन्द्रपुर नगरपालिका–२ साविक जुडिबेला गाविस–४ को कित्तानम्बर ९ सय ५२ को ५ कट्ठा जमिन मनोज गिरीले ०७९ माघ २७ गते खरिद गर्दा मालपोत कार्यालय चन्द्रनिगाहपुरमा पारित गरेको लिखतमा १८ लाख १५ हजार उल्लेख रहे पनि एनआईसी एसिया बैंक गरुडाले ऋण स्वीकृत गर्न लिखतमा अगाडि १ आफंै थपेर १ करोड १८ लाख १५ हजार देखाई कर्जा प्रवाह गरेको खुलेको हो ।
सामान्य नागरिकलाई भने जमिन खरिद गरेको ६ महिनापछि मात्रै बैंकले ऋण दिने गरेकोमा उनीहरूलाई भने जमिन खरिद गरेको एक महिनामा नै बैंकले ऋण स्वीकृत गरेको हो । ती दुवैले सहुलियत कृषि ऋण लिए पनि उनीहरूको लगानी कृषि क्षेत्रमा नरहेको जानकारहरू बताउँछन् ।
एनआईसी एसिया बैंक गरुडाका तत्कालीन प्रबन्धक आमोद गुप्ताले आफू बैंकमा नरहेकाले यस विषयमा जानकारी दिन नसक्ने बताए ।
सो बैंकबाट चिन्टु राय यादवले अनु कृषि फर्मको नाममा ३ करोड ५० लाख ऋण स्वीकृत गराएका छन् भने मनोज गिरीले अम्बे कृषि फर्मको नाममा कृषि ऋण स्वीकृत गराएका हुन् । यस विषयमा दुवै जनाले प्रतिक्रिया दिन मानेनन् । यस्ता घटना अन्य रहेको बुझिएको छ ।