चन्द्रपुर,२३ असार । रौतहटको गुजरा नगरपालिका–३ स्थित जङ्गल इलाकाबाट सशस्त्र प्रहरीले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । असार २१ गते साँझ करिब ६ः१५ बजे फर्वार्ड सुरक्षा बेस जङ्गलसैयाबाट खटिएको सशस्त्र प्रहरीले विशेष चेकजाँच अभियानको क्रममा ती युवालाई शंका लागेर जाँच गर्दा झोलाभित्र लुकाई छिपाई राखिएको ४ सय ४८ थान विभिन्न प्रकारका लागुऔषध बरामद गरेको हो । पक्राउ परेकामा बारा जिल्लाको निजगढ नगरपालिका–८ निवासी १८ वर्षीय नवबहादुर वाइवा (उर्फ माइला) र १९ वर्षीय दावा योञ्जन रहेको सशस्त्र प्रहरी बल नम्बर ११ गण हेडक्वाटर, रौतहटका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बस्नेतले जानकारी दिनुभयो । उनीहरूको साथबाट बरामद गरिएको लागुऔषधमा नाइट्राजेपाम, स्पास्मोप्रोक्सिवन, डाइजेपाम, फेनारगन लगायतका विभिन्न प्रतिबन्धित औषधिहरू रहेको जनाइएको छ । यस्ता औषधिहरू सामान्यतया चिकित्सकको प्रेसक्रिप्सन विना प्रयोग गर्न पाइँदैन, तर हालका दिनहरूमा ती औषधिहरूको दुरुपयोग हुँदै आएको देखिएको छ ।
सशस्त्र प्रहरीद्वारा नियन्त्रणमा लिइएका वाइवा र योञ्जनलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीको लागि नेपाल प्रहरीको जिम्मामा बुझाइएको उपरीक्षक बस्नेतले बताए ।
“हामीले नियमित गस्ती तथा चेकजाँचलाई अझ कडा बनाएका छौं । सीमा क्षेत्रमा लागुऔषध ओसारपसार, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्न हाम्रो बल निरन्तर सक्रिय छ,“ सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले भन्नुभयो । यसअघि पनि सोही क्षेत्रमा लागुऔषध तथा अवैध सामग्रीसहित युवाहरू पक्राउ परिरहेको भए पनि, पछिल्लो समय युवावर्गमा लागुऔषध दुरुपयोग र तस्करीको संलग्नता बढ्दै गएको देखिन्छ ।
स्थानीय बासिन्दाहरूले सुरक्षाकर्मीहरूको सक्रियताप्रति राहत महसुस गरे पनि, उनीहरूले यस्ता आपराधिक गतिविधिको जडमूल हटाउन सरकार र सुरक्षा निकायलाई अझ सक्रियता देखाउन आग्रह गरेका छन् । यस घटनासँगै पुनः एकपटक सीमा नजिकका जंगल क्षेत्र तथा ग्रामीण बाटोहरू लागुऔषध तस्करीको सहज मार्ग बन्दै गइरहेको तर्फ राज्यसंयन्त्रको ध्यानाकर्षण भएको छ । २०८२ असार २३ गतेको तराई एक्सप्रेस दैनिकमा प्रकाशित समाचार ।








