भ्रष्टाचार उजागर गर्ने पत्रकारलाई दुर्व्यवहार : प्रेस चौतारीको घोर आपत्ति
रौतहट ३ भदौ । फतुवा विजयपुर नगरपालिकामा भएको अनियमितता र भ्रष्टाचार सम्बन्धी समाचार लेख्ने पत्रकारमाथि दुर्व्यवहार प्रकरणमा उपमेयर (कावा मेयर) अम्बेया खातुनका छोरा मोहम्मद सनाउल्लाह विरुद्ध जिल्ला अदालत रौतहटले पक्राउ पुर्जी जारी गरेको छ।
ईलाका प्रहरी कार्यालय विजयपुरको अनुरोधमा अदालतले सोमवार आदेश दिएको प्रहरी इन्स्पेक्टर सुरेन्द्र यादवले जानकारी दिए। पत्रकार कृष्ण तिवारीमाथि गत साउन ३० गते नगरसभा कार्यक्रममा सहभागी हुन जाने क्रममा सन्तपुर चौक नजिकै रोकेर सनाउल्लाहले दुर्व्यवहार गरेका थिए।
पीडित तिवारीको जाहेरीपछि रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीको निर्देशनमा इलाका प्रहरी कार्यालय विजयपुरले अनुसन्धान गरी आईतवार सनाउल्लाहमाथि अभद्र मुद्दा दर्ता गरेको थियो। उनलाई खोजतलास गरी पक्राउ गर्न छुट्टै टोली परिचालन गरिएको प्रहरीको भनाइ छ।
प्रेस चौतारीको विरोध
प्रेस चौतारी नेपाल, रौतहटले घटनाप्रति घोर आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेको छ। सचिव मुकेश कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– “पत्रकारलाई धम्की र आक्रमण गर्ने व्यक्तिमाथि कडा कानुनी कारबाही नगर्ने हो भने यस्ता घटना दोहोरिन सक्छन्।”
चौतारीले समाचारमार्फत भ्रष्टाचार उजागर गर्ने पत्रकारमाथि आक्रमण लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको टिप्पणी गरेको छ।
भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्ति
महालेखा परीक्षकको प्रतिवेदनले नगरपालिकामा इन्धन र यातायात खर्चमा अनियमितता भएको देखाएको थियो। सो प्रतिवेदनकै आधारमा पत्रकार तिवारीले समाचार लेखेपछि कावा मेयर खातुनका छोराले दुर्व्यवहार गरेको चौतारीको आरोप छ।
नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा भ्रष्टाचार र अनियमितता उजागर गर्ने पत्रकार धम्की, दबाब र आक्रमणमा पर्नु सामान्य बन्दै गएको भन्दै चौतारीले गम्भीर चिन्ता व्यक्त गरेको छ।
अस्तव्यस्त नगर सञ्चालन
२०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसका गोपाल प्रसाद यादव मेयर निर्वाचित भए पनि विशेष अदालतले दोषी ठहर गरेपछि उपमेयर खातुन कार्यवाहक बनेकी थिइन्। त्यसयता उनका श्रीमान् मोहम्मद सेराजको ‘कमिसन मोह’ ले नगरको कामकाज अस्तव्यस्त भएको जनप्रतिनिधि स्वयंले गुनासो गर्दै आएका छन्।
गत आवमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत तीन विद्यालय भवन निर्माणका लागि आएको १ करोड ६५ लाख रुपैयाँ समेत सेराजकै हस्तक्षेपका कारण फ्रिज भएको स्थानीयको आरोप छ।








