रौतहट ।
बृन्दावन नगरपालिका–३ बिश्रामपुरको रामपुर टोलमा रहेको नगर अस्पताल बन्द भएको तीन हप्ताभन्दा बढी भइसकेको छ । तर यसबीचमा नगरप्रमुखदेखि वडाध्यक्षसम्मका निर्वाचित जनप्रतिनिधि कानमा तेल हालेर मस्त निद्रामा बसिरहेको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

जनताले विश्वास गरेर जिताएका प्रतिनिधि तीन हप्तासम्म जनताकै आधारभूत स्वास्थ्य सुविधा ठप्प हुँदा समेत बेखबर बस्नु विडम्बना भएको नागरिकको टिप्पणी छ ।

चुनावअघि “जनताको दुःख मेरो दुःख हो”, “स्वास्थ्यलाई पहिलो प्राथमिकता दिन्छु” भन्ने भाषणमा मात्र सीमित भएका यी प्रतिनिधिहरू सत्ताको स्वाद चाखेपछि जनताकै स्वास्थ्य अधिकारमाथि खिल्ली उडाइरहेको स्थानीयवासीको आरोप छ ।

नगरवासीको भनाइमा, अस्पताल बन्द हुँदा हजारौँ सेवाग्राही मर्कामा परेका छन्, तर नगरप्रमुख र सम्बन्धित वडाध्यक्षले एक शब्द बोल्ने फुर्सदसम्म पाएका छैनन् । यसरी जिम्मेवारीबाट पन्छिने जनप्रतिनिधि जनताको मतको अपमान गरिरहेको भन्दै नागरिकले आक्रोश पोखेका छन् ।

रामपुर टोलका एक बासिन्दाले जनआस्थासँग भने, “हामीले बहुमूल्य मत दिएर जिताएका प्रतिनिधि आज हाम्रो रोग–पीडा हेरेर हाँसिरहेका छन् । कानमा तेल हालेर बस्ने हो भने किन चुनावमा आएका थिए ?”

नगर अस्पताल लामो समयदेखि बन्द हुँदा नजिकैका अन्य स्वास्थ्य चौकी धाउनुपर्ने अवस्था छ । तर त्यहाँ पनि प्रभावकारी उपचार नपाउँदा बिरामी थप मारमा परेका छन् ।

स्थानीयवासीले तत्काल नगर अस्पताल सञ्चालनमा ल्याउन माग गरेका छन्, अन्यथा सडक संघर्षमा उत्रिने चेतावनी दिएका छन् ।

हजारौँ सेवाग्राहीले उपचार नपाएर सास्ती खेपिरहेका बेला निर्वाचित जनप्रतिनिधि बेपर्वाह बनेकोप्रति नागरिक असन्तोष चुलिएको छ । स्थानीयवासीहरूको भनाइमा चुनाव जित्नु अघि र जितेपछि पनि स्वास्थ्यलाई प्राथमिकतामा राख्ने ठूला–ठूला भाषण गर्ने जनप्रतिनिधिहरू अहिले विपरीत ढंगले व्यवहार गरिरहेका छन् ।

“जनताको दुःख मेरो हो” भन्ने नारासहित निर्वाचित भएका वडाध्यक्षदेखि नगरप्रमुखसम्म अहिले जनतालाई दुःख दिएर घरमै मस्त बसिरहेको जनगुनासो छ ।

स्थानीयवासी रामपुर टोलका एक सर्वसाधारणले भने, “हामीले बहुमुल्य मत दिएर जिताएका नेताले यति बेला उपचार सुविधा बन्द हुँदा पनि कुनै चासो नदिनु ठूलो दुर्भाग्य हो । यसरी जनतालाई बेवास्ता गर्ने जनप्रतिनिधिलाई फेरि विश्वास गर्न सकिन्छ ?” भन्ने प्रश्न गरेका छन् ।

नगर अस्पताल बन्द भएपछि नजिकैका स्वास्थ्य संस्था धाउँदा पनि उचित उपचार पाउन नसकेको गुनासो बाहिर आएको छ । तत्काल नगर अस्पताल सञ्चालनमा ल्याउनुपर्ने माग स्थानीयवासीको छ ।