यस वर्ष हालसम्म जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट ३२ जनाको मृत्यु१७२ जना संक्रमित भएका छन्। संक्रमण ४५ जिल्लामा फैलिएको छ।

परिवार कल्याण महाशाखाका डा. अभियान गौतमका अनुसार विगत तीन वर्षदेखि जेई आक्रामक रूपमा फैलिएको छ। गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाको मृत्यु भएको थियो।

सबैभन्दा बढी प्रभावित प्रदेशहरूमा लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती पर्छन्। लुम्बिनीमा ११, बागमतीमा ६, गण्डकीमा ५, कोशीमा ४, मधेशमा ३, सुदूरपश्चिममा २ र कर्णालीमा १ जनाको मृत्यु भएको छ।

६० वर्षमाथिका १५ जनाको मृत्यु भएको छ। अन्य २०–५९ वर्षका १२ जना र १९ वर्षमुनिका ५ जनाले ज्यान गुमाएका छन्।

जेई भाइरस क्युलेक्स लामखुट्टेले सार्छ, जसले बिहान र बेलुका टोक्छ। संक्रमित सुँगुर वा चरालाई टोक्ने लामखुट्टेबाट मानिसमा संक्रमण सर्छ।

नेपालमा पहिलोपटक सन् १९७८ मा रुपन्देहीमा संक्रमण देखिएको अनुमान छ भने सन् २००३ देखि आधिकारिक परीक्षण सुरु भएको हो।

खोप अभियानले रोग नियन्त्रणमा सहयोग गरे पनि पछिल्लो मृत्युदरले खतराको संकेत गरेको विज्ञहरू बताउँछन्। नेपालमा हाल ६० वर्षमाथिका व्यक्तिमा बढी संक्रमण र मृत्यु देखिन थालेको छ, जसको मुख्य कारण खोप नलगाउनु हो।

यो रोग फ्लेभी भाइरस समूहको हो, जसमा डेंगु भाइरस पनि पर्छ। संक्रमितमध्ये ३० प्रतिशतसम्मको मृत्यु र करिब ५० प्रतिशतमा स्नायु प्रणालीमा दीर्घकालीन असर देखिन्छ।

संक्रमण प्रायः धानखेती हुने, पानी जम्ने क्षेत्र र सुँगुर–हाँस पालन हुने ठाउँमा बढी देखिन्छ। लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, अचेत अवस्था आदि देखिन्छ।

जेईको विशेष औषधि छैन, उपचार लक्षणअनुसार गरिन्छ। खोप, सरसफाइ, लामो बाहुलाको लुगा, झुल, र पानी नजम्न दिनु नै यसको मुख्य बचाउ उपाय हुन्।