समाजमा यौनसम्बन्धी विषय अझै पनि असहज र लाजको विषय मानिँदै आएको छ । खुला रूपमा छलफल नहुनु, जानकारीको कमी र मानसिक दबाबका कारण धेरै मानिस सामान्य जिज्ञासासमेत व्यक्त गर्न हिचकिचाउँछन् । स्वास्थ्य विशेषज्ञहरूका अनुसार यौनबारे स्पष्ट ज्ञान नहुँदा अनावश्यक भ्रम, तनाव र यौनसम्बन्धी समस्याहरू लुकिइरहने गरेका छन् ।

‘जी–स्पट’बारे अझै भ्रम

महिलामा ‘जी–स्पट’ वास्तविक हो वा होइन भन्ने जिज्ञासा धेरैमा देखिन्छ । चिकित्सकहरूका अनुसार यो योनीभित्र करिब दुई इन्च भित्र पर्ने संवेदनशील क्षेत्र हो, जसले केही महिलामा विशेष आनन्द दिने गर्छ । तर सबै महिलामा यो क्षेत्र समान रूपमा सक्रिय हुँदैन, त्यसैले आनन्द अनुभव व्यक्तिगत रुचि र शारीरिक बनावटमा निर्भर हुन्छ ।

महिलामा यौनउत्कर्ष कसरी हुने ?

विशेषज्ञका अनुसार महिलामा चरमसुख (अर्गाज्म) मुख्यतः भगाङ्कुर (क्लिटोरिस) को उत्तेजनाबाट हुन्छ, जसमा ८ हजारभन्दा बढी स्नायु हुन्छन् । सहवासको क्रममा फोरप्ले, संवेदनशील अङ्ग स्पर्श र मानसिक तयारीले महिला अर्गाज्ममा पुग्ने सम्भावना बढाउँछ ।

चरमउत्कर्षको प्रक्रिया

उत्तेजना सुरु भएपछि क्लिटोरिस, योनी र स्तनमा रक्तसञ्चार बढ्छ । क्रमशः संवेदनशीलता तीव्र बन्दै गइरहन्छ । उत्कर्षको क्षणमा योनि आसपासका मांसपेशीहरू क्रमिक रूपमा सङ्कुचन हुन्छन् र मस्तिष्कले अक्सिटोसिन तथा डोपामिन जस्ता ‘खुसी हर्मोन’ स्राव गर्छ, जसले आनन्द र सन्तुष्टि अनुभव गराउँछ ।

लिङ्गको आकारले कति प्रभाव पार्छ ?

विशेषज्ञहरूका अनुसार सहवास सफलतामा लिङ्गको आकारले ठूलो प्रभाव पार्दैन । औसत ५–६ इन्च लम्बाइ नै पर्याप्त मानिन्छ । महिलाको योनी लचिलो भएकाले साइजप्रति अत्यधिक तनाव लिन आवश्यक छैन । सहवासमा बढी भूमिका फोरप्ले र दुवैको भावनात्मक सम्बन्धले खेल्ने अध्ययनले देखाएको छ ।

योनीको गहिराइ र ‘खुकुलो’ हुने भ्रम

सामान्य अवस्थामा महिलाको योनी ३–४ इन्च लामो हुन्छ र उत्तेजनाका बेला यो अझ लम्बिने र फैलिने क्षमता राख्छ । बारम्बार सहवासले योनी खुकुलो हुन्छ भन्ने धारणा गलत भएको चिकित्सकहरू बताउँछन् । उमेर र प्रसूति भने प्राकृतिक रूपमा प्रभाव पार्ने कारक हुन् ।

हस्तमैथुन : प्राकृतिक प्रक्रिया

हस्तमैथुनलाई धेरैले गलत बुझ्ने गरेका छन् । तर चिकित्सकका अनुसार यो स्वाभाविक प्रक्रिया हो, जसले यौन इच्छा शान्त पार्न मद्दत गर्छ । हस्तमैथुनका कारण दृष्टि कमजोर हुने, डन्डिफोर आउने, शुक्रकिट घट्ने जस्ता धारणाहरू वैज्ञानिक रूपमा गलत प्रमाणित भएका छन् ।

फाइदा र मनोवैज्ञानिक प्रभाव

हस्तमैथुनका बेला ‘एन्डोर्फिन’ हर्मोन स्राव हुने भएकाले तनाव कम हुनु, निद्रा सुधारिनु र शरीर हल्का महसुस हुनु सामान्य हो । केही अध्ययनले यसले प्रोस्टेट क्यान्सरको जोखिम घटाउन पनि भूमिका खेल्न सक्ने देखाएका छन् । तर, अत्यधिक निर्भरता भने मानसिक असर ल्याउन सक्छ, त्यसैले यसलाई बानीको रूपमा विकास गर्नु अनुचित मानिन्छ ।