रौतहट — हिन्दू धर्मावलम्बीहरूको सबैभन्दा ठूलो पर्व बडादसैँको मुखमा समेत रौतहटका हजारौं सरकारी कर्मचारी र सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध, अपाङ्ग, एकल महिला लगायतका लाभग्राहीले तलब तथा भत्ता प्राप्त गर्न सकेका छैनन्।

रौतहट जिल्लाका १६ नगरपालिका र २ गाउँपालिका गरी १८ स्थानीय तहमध्ये फतुवा विजयपुर, बौधिमाई, गुजरा र देवाही–गोनाही नगरपालिकाले अझै खाता सञ्चालन गर्न नसक्दा सो क्षेत्रका शिक्षक, कर्मचारी र लाभग्राहीहरू तलब र भत्ता बिना दसैँ मनाउन बाध्य भएका छन्। बाँकी १४ पालिकाको खाता भने सञ्चालनमा आइसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय, रौतहटका प्रमुख देवीप्रसाद गौतमले जानकारी दिए।

उनका अनुसार, नेपाल सरकारको नीति अनुसार स्थानीय तहहरूले असार १० गतेभित्र नगरसभा सम्पन्न गरिसक्नुपर्ने थियो। तर देवाही–गोनाही र बौधिमाई नगरपालिकामा अझै नगरसभा सम्पन्न हुन सकेको छैन। यस्तै, फतुवा विजयपुर र गुजरा नगरपालिकाले नगरसभा सम्पन्न गरे पनि बन्दसत्र र अन्य प्रशासनिक प्रक्रिया समयमै पूरा नगरेका कारण खाता सञ्चालनमा ढिलाइ भएको हो।

फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवले भने, “ढिलाइ भए पनि नगरसभा र बन्दसत्र दुवै सम्पन्न भइसकेका छन्। अब बाँकी रहेको योजनाको पोस्टिङ प्रक्रिया पूरा भएपछि २–४ दिनमै खाता सञ्चालन गर्ने तयारी भइरहेको छ।”

यसरी स्थानीय तहहरूको आन्तरिक व्यवस्थापन कमजोर हुँदा दसैँ जस्तो महत्वपूर्ण चाडमा पनि कर्मचारीहरू तलब पाउनबाट वञ्चित भएका छन्। तलब र भत्ता नपाउँदा नयाँ कपडा किन्न, मिठा परिकार बनाउन र घर फर्केर पर्व मनाउने योजना अधुरो बन्न पुगेको कर्मचारीहरूको गुनासो छ।

विशेषगरी टाढाका गाउँ तथा अन्य जिल्लाबाट आएका शिक्षक तथा कर्मचारीहरूले यात्रा खर्चको अभावमा घर जान नसकेको दुखेसो पोखेका छन्। सामाजिक सुरक्षा भत्ता पाउने वृद्ध, अपाङ्ग र एकल महिलाहरू पनि दसैँअघि राहत रकम नपाउँदा चाडपर्व फिक्का हुने अवस्था देखिएको छ।