
–रुपेन्द्र पटेल
रौतहटमा पछिल्ला समयमा पत्रकारिता क्षेत्रमा देखा परेका विवाद, आपसी आक्षेप, सामाजिक सञ्जालमै गालीगलौज र व्यक्तिगत चरित्रहत्या जस्ता प्रवृत्तिहरूले सम्पूर्ण पत्रकारितामाथि नै प्रश्न उठाएको छ । एउटा समाजको आधार स्तम्भ मानिने चौथो अंगप्रति जनताले नै नकारात्मक दृष्टिकोण राख्न थालेको अवस्था पत्रकारिता स्वयंका लागि गम्भीर संकट उत्पन्न भएको हो ।
गौरका पत्रकार अभिमन्यु पटेल र एक शाखा अधिकृतबीचको आर्थिक लेनदेनको अडियो र मैसेज चार्ट सार्वजनिक भएपछि चर्किएको विवाद त्यसको एउटा उदाहरण मात्रै हो । यसपछि पत्रकार महासघंकै पदाधिकारीले सामाजिक सञ्जालमार्फत व्यक्तिगत आक्षेप गर्ने, फेसबुकमा ‘प्रतिकार’ अभियान चलाउने प्रवृत्ति देखिनु अझ खतरनाक हो । पत्रकारिताले बहस, आलोचना र अन्वेषणलाई अंगिकार गर्नुपर्छ, तर त्यो तथ्य(आधारित र आचारसंहिताभित्र हुनुपर्छ । व्यक्तिगत द्वेष, बदनाम गर्ने अभियान वा अनलाइन चरित्रहत्या भने पत्रकारिताको धर्मसँग मेल खानै सक्दैन ।
पत्रकारितामा विवाद र विकृति किन बढ्दै छ ?
१. सामाजिक सञ्जालको दुरुपयोग
फेसबुक, युट्युब, टिकटोक जस्ता प्लेटफर्मले सूचना प्रवाहलाई सहज बनाइदिएका छन् । तर, यही सहजताले पत्रकारिता पेशाभित्रको गुणस्तरलाई कमजोर बनाएको छ । कुनै प्रमाणबिना ‘लाइभ’ गर्ने, व्यक्तिको बदनाम गर्ने, नेताको चाकडी गर्ने वा व्यक्तिगत रिस-इष्र्याका कारण सामग्री हाल्ने प्रवृत्ति मौलाउँदै गएको छ ।
२. प्रशिक्षण र दक्षताको अभाव
रौतहटमा दर्ता मिडियाको संख्या कम भए पनि ‘पत्रकार’ भने सयौँ पुगेका छन् । तर, तीमध्ये धेरैजसोले पत्रकारिता प्रशिक्षण लिएका छैनन् । कसैले नेतासँग नजिक भए, कसैले सामाजिक सञ्जालमा सक्रिय भए भन्ने आधारमा आफूलाई पत्रकार ठान्ने प्रवृत्ति बढेको छ ।
३. आर्थिक असुरक्षा र व्यक्तिगत लाभ
पत्रकारिताबाटै जीविकोपार्जन गर्न सक्ने वातावरण नहुँदा कतिपय पत्रकारहरू व्यक्तिगत लाभ, विज्ञापन, ठेक्का-पट्टा वा नेताको प्रचारलाई मुख्य धन्दा बनाउन पुगेका छन् । यसले समाचार लेखनमा तथ्य र निष्पक्षतालाई कमजोर बनाइदिएको छ ।
४. संगठन र नियामक निकायको कमजोरी
पत्रकार महासघं वा मिडिया काउन्सिल जस्ता संस्थाहरूले औपचारिक रूपमा नियम बनाएका भए पनि निगरानी र कारबाही प्रभावकारी छैन । जसले गर्दा ‘आचारसंहिता’ कागजमा मात्रै सीमित रह्यो, व्यवहारमा कमजोर बनेको देखिन्छ । फेसबुक लाइभ, मेसेन्जर स्क्रिनसट, युट्युब अन्तर्वार्ताजस्ता माध्यमलाई तथ्य उजागर गर्ने जिम्मेवार अभ्यासभन्दा पनि व्यक्तिगत आक्षेप र प्रचारको उपकरण बनाइएको छ । पत्रकारिताको ‘डिजिटलाइजेशन’ हुनु आवश्यक भए पनि यसको ‘भड्किलो र गैरजिम्मेवार’ प्रयोगले पेशाको गरिमा नै घटाइदिएको छ ।
समाधानका बाटा
यो अवस्था यथावत रह्यो भने रौतहटमा मात्र होइन, मधेश प्रदेशकै पत्रकारिता नै जनविश्वासबाट वञ्चित हुनेछ । त्यसैले अब तुरुन्तै सुधारका कदम चाल्न आवश्यक छ ।
१. आचारसंहिताको कडाइका साथ कार्यान्वयन
पत्रकार महासङ्घ, मिडिया काउन्सिल र प्रेस संगठनहरूले आचारसंहिता उल्लङ्घन गर्नेप्रति स्पष्ट कारबाहीको प्रक्रिया बनाउनुपर्छ । चेतावनी, सदस्यता निलम्बन, कार्यक्रम बहिष्कारदेखि कानुनी कारबाहीसम्मका कठोर कदम चाल्न सक्ने अवस्था सिर्जना गर्न जरुरी छ ।
२. पत्रकार तालिम र क्षमता विकास
नयाँ पुस्तालाई निरन्तर तालिम, कार्यशाला र संवादका कार्यक्रममा सहभागी गराउनुपर्छ। यसले तथ्य(आधारित लेखन, अन्वेषणात्मक पत्रकारिता र डिजिटल माध्यमको जिम्मेवार प्रयोग सिकाउँछ।
३. सामाजिक सञ्जालमा मर्यादित व्यवहार
पत्रकारहरूबीचको असहमति वा आलोचना संस्थागत मञ्चमार्फत हुनुपर्छ, सामाजिक सञ्जालमा व्यक्तिगत आक्षेपमार्फत होइन । पत्रकार महासङ्घले यस विषयमा आचारसंहिता सम्बन्धी ‘सोशल मिडिया गाइडलाइन’ जारी गर्नुपर्ने हुन्छ ।
४. पारदर्शी आर्थिक प्रणाली
स्थानीय सरकार र निजी क्षेत्रबाट पत्रकारितालाई हुने सहयोग पारदर्शी र संस्थागत बनाइनुपर्छ । व्यक्तिगत लाभका लागि ‘समाचार’ बेच्ने प्रवृत्ति घटाउनका लागि मिडिया हाउसहरूले आफ्ना पत्रकारलाई निश्चित आर्थिक सुरक्षाको ग्यारेन्टी दिनुपर्छ ।
५. स्वतन्त्र प्रेस नियामक निकायको सक्रियता
मिडिया काउन्सिल, प्रेस काउन्सिल र महासङ्घबीच समन्वय गर्दै गलत प्रवृत्तिमा संलग्न व्यक्तिको छानबिन, तथ्य-पुष्टि र सार्वजनिक प्रतिवेदन प्रकाशन गर्ने प्रचलन बसाल्नुपर्छ । यसले पत्रकारिताप्रति जनताको विश्वास फिर्ता ल्याउन मद्दत गर्नेछ ।
पाठकलाई पुनः विश्वास जित्ने बाटो
पत्रकारिताको मूल ध्येय सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह हो । यही मूल्यमा फर्किन सक्यो भने मात्र रौतहटको पत्रकारिता फेरि सम्मानित बन्न सक्छ । पाठकलाई विश्वास दिलाउने केही आधार यस्ता छन् :
तथ्य-आधारित समाचार लेखन : हल्ला होइन, प्रमाणमा आधारित समाचार प्रकाशन गर्ने अभ्यास बलियो बनाउनुपर्छ ।
जनताको सरोकार प्राथमिकतामा ः नेताको प्रचार वा व्यक्तिगत रिसइर्षाभन्दा जनताको शिक्षा, स्वास्थ्य, पूर्वाधार, बेरोजगारीजस्ता मुद्दामा जोड दिनुपर्छ ।
पारदर्शिता र आत्मालोचना : गल्ती भएमा खुलेर माफी माग्ने र सुधार्ने संस्कार विकास गर्नुपर्छ ।
पेशागत एकता र सहकार्य : आपसी गालीगलौज छोडेर संस्थागत एकतामा जोड दिनुपर्छ ।
निष्कर्ष
रौतहटको पत्रकारिता अहिले कठिन मोडमा उभिएको छ । केही व्यक्तिहरूका कारण सिंगो पत्रकारिता बदनाम भएको छ भने पेशागत मर्यादा कमजोर भएको छ । तर, समयमै सुधारका प्रयास भए, आचारसंहिताको कडाइका साथ पालना गरियो, तथ्यमा आधारित पत्रकारिता अघि बढाइयो भने पत्रकारिता फेरि सम्मानित बन्नेछ । पत्रकारले आफ्नो कलमलाई जनताको आवाज बनाउन सके, सामाजिक सञ्जाललाई प्रचार होइन सत्य खोज्ने माध्यम बनाउन सके, अनि संगठनहरूले निगरानी र कारबाहीलाई गम्भीरतापूर्वक लिने हो भने रौतहटमा मात्र होइन, सम्पूर्ण मधेश प्रदेशमा पत्रकारिताप्रति जनताको विश्वास पुनः स्थापित हुनेछ । जबसम्म तथ्यहीन आरोप, गालीगलौज र चरित्र हत्या रोकिँदैन, तबसम्म पत्रकारिताको बाटो शुद्ध र सम्मानित बन्न सक्दैन । त्यसैले पत्रकारहरूले नै आत्मसंयम र पेशागत मर्यादाको पालन गरेर विश्वसनीयता पुनःस्थापना गर्न जरुरी देखिन्छ ।







