रौतहट,१५ भदौ । सरकारले घरजग्गा कारोबार गर्न अब इजाजतपत्र (लाइसेन्स) अनिवार्य गरेको छ । मालपोत नियमावली, २०३६ लाई आठौँ पटक संशोधन गर्दै सरकारले यस्तो व्यवस्था लागू गरेको हो ।

संशोधित नियमावलीको परिच्छेद–६ (ख) मा गरिएको व्यवस्थाअनुसार घरजग्गा व्यवसाय गर्नेहरूले अनिवार्य रूपमा लाइसेन्सका लागि निवेदन दिनुपर्नेछ ।

यसअघि पनि सरकारको बजेट वक्तव्यमा पटक–पटक घरजग्गा कारोबारलाई इजाजतपत्र प्रणालीमा ल्याइने उल्लेख भए पनि कानुनी आधार नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीका अनुसार नयाँ व्यवस्थाले घरजग्गा कारोबारलाई “व्यावसायिक र मर्यादित” बनाउन सहयोग गर्नेछ । “देश र जनताको हितमा आवश्यक ऐन–नियम र कार्यविधि बनाउन सरकारले निरन्तर प्रयास गरेको छ । यसको सकारात्मक नतिजा क्रमशः देखिन थालेको छ,” मन्त्री अधिकारीले बताए ।