रौतहट — नेकपा (एमाले) निकट राष्ट्रिय वाणिज्य सङ्घका केन्द्रीय सचिव तथा चन्द्रपुर नगर कमिटीका आर्थिक विभाग प्रमुख सुनिल तिमल्सिनाले पुनः नेकपा (एमाले) मै फर्किएको घोषणा गरेका छन्। उनले आफ्नो फेसबुक वालमार्फत आफू फेरि एमालेमै रहेको स्पष्ट पार्दै भावनात्मक र राजनीतिक सन्देशसमेत दिएका छन्।
तिमल्सिनाले लेखेका छन्, “जेन जि आन्दोलनको क्रममा केही भावनात्मक कारणले म एमाले पार्टीबाट अलग भएको थिएँ। तर समयसँगै आत्ममन्थन गर्दा मैले बुझेँ — देशको विकास, राष्ट्रिय एकता र समाजवादी लक्ष्य हासिल गर्ने ठोस नेतृत्व भनेकै नेकपा (एमाले) हो।”
उनले थप लेखेका छन्, “एमालेको नीति, विचार र नेतृत्वप्रति मेरो आस्था अझ गहिरो बनेको छ। त्यसैले आज म गर्वका साथ भन्छु — म फेरि एमालेमै छु।”
रौतहट क्षेत्रका सक्रिय युवा व्यवसायी तथा पार्टीका “खुंखार कार्यकर्ता” का रूपमा परिचित तिमल्सिनाले आफ्नो स्टाटसमा #मफेरिउमालेमा #राष्ट्रपहिलो #जनताकोपार्टी #नेपालएमाले जस्ता ह्यासट्याग प्रयोग गर्दै एमालेप्रतिको निष्ठा पुनः व्यक्त गरेका छन्।
उनको पुनः प्रवेशले स्थानीय तहमा एमाले संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ। पार्टीका स्थानीय नेताहरूले तिमल्सिनाको पुनः आगमनले संगठनलाई ऊर्जा मिल्ने प्रतिक्रिया दिएका छन्।








