रौतहट । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि पूर्व मन्त्री योगेन्द्र राय यादवको एकल नाम सर्वसम्मत रूपमा सिफारिस गरेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि जसपा नेपाल रौतहटले राजदेवी नगरपालिका–१ स्थित पथरा पोखरीमा आयोजना गरेको बृहत् क्षेत्रीय भेलाबाट यादवको नाम प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
भेलाबाट गठन गरिएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति, क्षेत्र नं. १ रौतहटले नेता यादवको नाम सर्वसम्मत रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।
जसपा नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व कृषि राज्य मन्त्रीसमेत रहेका यादवको संघीय सांसद पदका लागि एकल नाम सिफारिस भएसँगै पार्टीभित्र उत्साह थपिएको छ। यसले नेता–कार्यकर्तामा नयाँ ऊर्जा र आत्मविश्वास बढाएको जसपा नेताहरूले बताएका छन्।
यसैगरी, रौतहट क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य समानुपातिकतर्फ प्रीति रमन, ललन यादवलगायतका नामहरू पनि सिफारिस गरिएको छ।
भेलाबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति, क्षेत्र नं. १ रौतहटका अध्यक्षमा नेता हरिनारायण प्रसाद यादव सर्वसम्मत रूपमा चयन भएका छन्। माधवनारायण नगरपालिका–६ माधोपुर निवासी यादवको अध्यक्षतामा २५ सदस्यीय प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समिति गठन गरिएको जसपा नेपाल रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले जानकारी दिए।
जिल्ला अध्यक्ष राजीव रंजन यादवको अध्यक्षता तथा जसपा नेपाल केन्द्रीय कार्यकारिणी समिति सदस्य रामकिशोर यादवको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त क्षेत्रीय भेलामा पार्टीका नेता–कार्यकर्ताहरूको उल्लेख्य तथा उत्साहजनक सहभागिता रहेको थियो।
रौतहट क्षेत्र नं. १ बाट योगेन्द्र राय यादवको नाम प्रतिनिधि सभा सदस्य पदका लागि सिफारिस भएसँगै यस क्षेत्रको निर्वाचन प्रतिस्पर्धा थप रोचक हुने अनुमान गरिएको छ।
विगतमा प्रदेश सांसद रहँदा यादवले विकास निर्माण र सामाजिक सेवाका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै जनताको विश्वास जित्न सफल भएको स्थानीयवासीको भनाइ छ। निरन्तर जनताको बीचमा रहने, हरेक सुख–दुःखमा साथ दिने र जनहितका मुद्दामा दृढतापूर्वक उभिने नेताका रूपमा परिचित यादव यस क्षेत्रमा लोकप्रिय मानिन्छन्।
यसै कारण आगामी निर्वाचनमा उनको जित सहज हुने आँकलन सुरु भएको छ भने सम्भावित प्रतिस्पर्धीहरूका लागि चुनौती थपिने चर्चा पनि चलेको छ।








