ओम प्रकाश यादव
रौतहट, ५ भदौ । केहि दिनअघि मात्रै रौतहटमा एक दलित बालिकालाई एकजना गैरदलित युवकले जबरजस्ती करणी गर्ने प्रयास गरेको घटना बाहिर आएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा नं २ जमुनियाका २० वर्षिय युवक सुनिल कुमार साहले स्थानीय दलित अर्थात एक डोम जातीको १३ वर्षिया बालिकालाई करणी गर्ने प्रयास गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ६ दिन अघि मात्रै जमुनियाका एक दलित बालिकालाई सोही गाउँका सुनिल कुमार साहले ललाई फकाई जबरजस्ती करणी गर्ने प्रयास गरेको थियो । बालिकालाई दुव्र्यवहार गर्ने युवक साहमाथी जबरजस्ती करणी उद्योगको मुदा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभएको छ । पिडितको उजुरीको आधारमा गरुडा प्रहरीले नै मुदा दर्ता गरिसकेको छ । यता घटनालगतै आरोपी साह फरार भएको एकसाता हुन लाग्यो तर प्रहरीले उनलाई अझै पक्राउ गर्न सकेको छैन । आरोपी साहको व्यापक खोजतलास भइरहेको प्रहरी नायव उपरीक्षक महतोले बताउनुभयो । पिडित बालिकाले आरोपी साह आफुलाई करणी नगरी करणीको प्रयास मात्रै गरेको प्रहरी समक्ष ब्यान दिएकी थिईन । बालिकाले दिएको सोही ब्यानका आधारमा गरुडा प्रहरीले करणी गर्ने प्रयास गरेको भनी मुदा दर्ता गरिसकेको छ तर पछि आएर बालिकाले आफुलाई करणीको प्रयास नगरी करणी नै गरेको केहि सञ्चारकर्मीलाई बताएकी छिन । प्रहरीसँग डराएरका कारण आफु करणीको दुस्प्रयास मात्रै गरेको भनी झुठो ब्यान दिएको पिडित बालिकाको भनाई छ । दलित भएकै कारण पिडित परिवारलाई कतिपयले पैसा लिएर मिलापत्र गर्न दवाव समेत दिन थालेको छ । कतिपयले त मिलापत्र नगरे तिमिहरुलाई गाउँ बाट नै निकाला गरिदिन्छु भनी उल्टै पिडित परिवारहरुलाई नै धम्की दिएको श्रोतले तराई एक्सप्रेसलाई बताएको छ । छोरीको ब्यानको आधारमा नभई मेडिकल रिपोर्टको आधारमा मात्रै मुदाको प्रक्रिया अगाडि बढाउनुपर्ने पिडित बालिकाको बुबाले बताएका हुन । सोही गाउँका दलितका अगुवा नेता समेत रहेका जनता समाजवादी पार्टीका नेता रामप्रवेस दासले पिडित बालिकाले आफुलाई करणी गरेको बताइरहेकोले यस विषयमा निसपक्ष अनुसन्धान हुनुपर्ने माग गर्नुभएको छ । नेता दासले बालिकाको स्वास्थ्य परिक्षणको रिपोर्टको आधारमा मात्रै मुदा दर्ता गर्न प्रहरीलाई आग्रह गरेका हुन । बालिकालाई करणी गरे नगरेको कुरा मेडिकल रिपोर्टबाट नै खुल्ने भएकोले प्रहरीले मेडिकल रिपोर्ट सार्वजनिक गर्नुपर्ने र सोही रिपोर्टको आधारमा मुदाको प्रक्रिया अगाडि बढाउनुपर्ने माग नेता दासले गर्नुभएको छ । पिडित बालिकाले जसरी पनि न्याय पाउनुपर्ने उहाँको माग छ । नेता दासले बालिकाले न्याय नपाए आफुहरु चुप लागेर नबस्ने चेतावनी समेत दिनुभएको छ ।