प्रेमचन्द्र झा
पत्रकारिता कुनै पनि समाजको ऐना हो, जसले समाजका यथार्थहरू उजागर गर्छ, अन्याय विरुद्ध आवाज उठाउँछ, र जनतालाई सुसूचित गराउँछ । यस्तै महत्वपूर्ण उद्देश्यका साथ सुरु गरिएको पत्रिका हो — तराई एक्सप्रेस, जसले विक्रम संवत् २०६२ सालदेखि निरन्तर रुपमा आफ्नो पहिचान बनाउँदै आएको छ। सुरुमा साप्ताहिक रुपमा प्रकाशन भएको यो पत्रिका आजको दिनमा दैनिक रुपमा जनताको मन मुटुमा बस्न सफल भएको छ ।
तराई एक्सप्रेसको जन्मको समयमा मुलुक गम्भीर राजनीतिक संक्रमणबाट गुज्रिरहेको थियो । त्यसकै सन्दर्भमा २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलन सम्पन्न भएको समयमा पत्रिकाको आरम्भ भयो। यस्तो अस्थिर परिस्थितिमा पनि पत्रिकाले सत्य, तथ्य र जनभावनाको पक्षमा आवाज उठाउँदै आफ्नो उपस्थितिलाई प्रमाणित ग¥यो। उक्त समयमा पत्रिकाको नामकरणदेखि लिएर सामग्री छनौटसम्मको सम्पूर्ण प्रक्रियामा मेरो सक्रिय सहभागिता थियो । जसले पत्रिकाको मौलिकता र उद्देश्य निर्धारणमा योगदान दिए ।
स्थानीय पत्रपत्रिका त्यो समय रौतहट जिल्लामा धेरै थिएनन्। तराई एक्सप्रेसको आगमनले त्यो अभावलाई पूर्ति मात्र गरेन, पत्रकारितामा नयाँ उचाइ पनि ल्यायो। पत्रिकाले छोटो समयमै पाठक माझ विश्वसनीयता र लोकप्रियता हासिल गर्न सफल भयो। सत्य, तथ्यमा आधारित खबर, जनपक्षीय दृष्टिकोण र निष्पक्ष सम्पादन शैलीले यस पत्रिकाले जनताको आवाज बोल्ने मञ्चको रुपमा स्थान बनायो ।
पत्रिकाको विकासको यात्रा सहज भने थिएन । देशको राजनीतिक, सामाजिक र आर्थिक चक्रव्यूह बीच पत्रिकाले आफ्नो मार्ग कोर्दै अघि बढ्नुपर्ने अवस्था थियो ।
त्यस समय सोही बखत ०६४÷०६५मा साथीहरूले मलाईलाई नेपाल पत्रकार महासंघ रौतहटको नेतृत्वको जिम्मेवारी दिइयो । म अध्यक्ष भए त्यसपछि पत्रिकाबाट औपचारिक रुपमा विदा लिएका भए पनि माया, सम्बन्ध र समर्पणमा तराई एक्सप्रेस प्रति कुनै कमी आएन । पत्रिकासँगको सम्बन्ध भौतिक उपस्थितिबाट टाढा भए पनि आत्मिक र भावनात्मक रुपमा टिममा सधैँ जोडिएर रहे ।
पत्रिकाका सञ्चालक मित्र अशोक कुमार पहाडीले पनि मसंग सधैं आत्मीयता देखाउँदै पत्रिका र संस्थापकबीचको सम्बन्धलाई अझ मजबुत बनाए । यस्तै विश्वास, सम्बन्ध र सामूहिक प्रयासले आज तराई एक्सप्रेसले दुई दशक पूरा गरेर २१ औं वर्षमा प्रवेश गरेको गौरवपूर्ण अवसर पाएको छ ।
पत्रिकाको यो यात्राले स्पष्ट देखाउँछ कि जब पत्रकारिता निष्पक्ष, जनमुखी र सत्यनिष्ठ हुन्छ, तब त्यो समुदायको आवाज बन्न सक्छ। तराई एक्सप्रेसले पनि यही आदर्शलाई आत्मसात् गर्दै आम जनताको अधिकार, अभिव्यक्ति स्वतन्त्रता र सामाजिक न्यायको पक्षमा कलम चलाएको छ ।
तराई एक्सप्रेसले मलाई अनुभवी पत्रकारको जीवन र अनुभवको पाठ सिकाएका छन । साँचो पत्रकारिता केवल समाचार लेख्ने वा छाप्ने काम होइन; यो एउटा जीवनशैली हो, जसमा जनताको सेवा, अन्यायको विरोध र सत्यको पक्षमा उभिने प्रतिबद्धता रहन्छ । तराई एक्सप्रेस पत्रिकासँगको मेरो सम्बन्ध कहिल्यै टुटेको छैन । मेरो गहिरो भावनात्मक सम्बन्ध र पत्रिकाप्रतिको निष्ठा झन बढदै गएका छन ।
तराई एक्सप्रेसले दुई दशकको यात्रा पूरा गरेकोमा केवल एउटा पत्रिकाको सफलताको कुरा होइन, यो स्थानीय पत्रकारिताको बलियो आधार निर्माण गर्ने आन्दोलनको सफलताको कथा हो। पत्रकारितामा लागेका नयाँ पुस्ताका लागि यो एक प्रेरणाको स्रोत हो, जसले देखाउँछ कि जब प्रतिबद्धता र आदर्शहरू प्रष्ट हुन्छन्, तब कुनै पनि मञ्चले आफ्नो पहिचान बनाउने गर्छन ।
अन्त्यमा, मेरो शुभेच्छा यतिमै केन्द्रित छ – तराई एक्सप्रेस अझ जनपक्षीय बनोस्, अझ निडर बनोस्, र जनताको सूचना अधिकारको पक्षमा सधैं बलियो आवाज उठाउने मञ्च रहोस् । अशोक कुमार पहाडी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछु । प्रेमचन्द्र झा ,पुर्व अध्यक्ष
नेपाल पत्रकार महासंघ रौतहट