कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शुक्रबार सम्पन्न सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १३३ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन जोड्यो। जनकपुरका लागि संगिथ कुरेले ३८ बलमा २ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ४५ रनको योगदान दिए। त्यस्तै, मयन यादवले २३ बलमा १ चौका र १ छक्का मद्दतमा अविजित २७ रन बनाए।
८३ रनमै ६ विकेट गुमाएर समस्यामा परेको जनकपुरलाई संगिथ कुरे र मयन यादवले अविजित ४९ रनको महत्वपूर्ण साझेदारी गर्दै सम्मानजनक स्कोरमा पुर्याए।
ओपनर आसिफ शेखले १७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २० रन जोडे। सञ्जय कृष्णमुर्तीले १४ तथा शुभ कंसाकारले ११ रन बनाए। अनिल शाह ७ र माज सदाकत ६ रनमा आउट भए।
लुम्बिनीका लागि बलिङतर्फ शेर मल्ल र कप्तान रोहित पौडेलले समान २–२ विकेट लिए। शेर मल्लले ४ ओभरमा २० रन खर्चिए भने रोहित पौडेलले २ ओभरमा १६ रन दिए। यस्तै, जेज स्मिथ र रुबेन ट्रम्पल्मयानले समान १–१ विकेट हात पारे।







