अशोक पहाडी
पछिल्लो समय विश्व तीव्र गतिमा डिजिटल युगतर्फ अग्रसर भइरहेको छ । इन्टरनेट र सामाजिक सञ्जालले मानिसको जीवनशैली, सोच र व्यवहारमा गहिरो प्रभाव पारेको छ । विशेषगरी युवा पुस्ता सामाजिक सञ्जालसँग अत्यधिक नजिकिएको देखिन्छ । टिकटक, फेसबुक, युट्युब, एक्स (ट्विटर) जस्ता प्लेटफर्महरू आज विचार निर्माणको मुख्य माध्यम बनेका छन् । तर समस्या के छ भने, धेरै युवाहरूले गहिरो अध्ययन, तथ्य परीक्षण र विवेकपूर्ण सोचभन्दा सामाजिक सञ्जालका अगुवा, प्रभावशाली पात्र वा भाइरल सामग्रीकै भरमा आफ्नो धारणा बनाउने गरेका छन् । यसले समाजमा नकारात्मक सोच, भ्रम र द्वन्द्वलाई प्रश्रय दिइरहेको छ ।
देशको आर्थिक, राजनीतिक र सामाजिक अवस्थाबारे गम्भीर बहस र विश्लेषण आवश्यक हुने ठाउँमा सामाजिक सञ्जालमा सतही, भ्रामक र उत्तेजक सामग्रीहरू हाबी भइरहेका छन् । केही व्यक्तिहरू विदेशका ठूला मुलुकका सन्दर्भहरू कपी–पेस्ट गरेर नेपालको यथार्थसँग नमेलिने तुलना प्रस्तुत गर्छन् । यसले समस्या समाधानभन्दा पनि असन्तोष र निराशा बढाउने काम गरिरहेको छ । सामाजिक सञ्जाल सूचनाको माध्यम हुनुपर्नेमा अफवाह, घृणा र विभाजन फैलाउने साधन बन्दै जानु चिन्ताको विषय हो ।
छिमेकी मुलुक चीनले कृत्रिम बौद्धिकता (एआइ) लाई विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि र अनुसन्धानमा प्रयोग गर्दै उल्लेखनीय प्रगति गरिरहेको छ । त्यहाँ एआइ आविष्कार र समाधानको औजार बनेको छ । तर नेपालमा भने एआइ र प्रविधिलाई सिर्जनात्मक प्रयोगभन्दा पनि एक–अर्कोलाई होच्याउने, चरित्र हत्या गर्ने, नक्कली भिडियो र तस्बिर बनाउने (डीपफेक) जस्ता गलत कार्यमा प्रयोग भइरहेको देखिन्छ । यसले सामाजिक विश्वास कमजोर बनाउनुका साथै युवा पुस्तालाई गलत दिशातर्फ डो¥याइरहेको छ ।
सामाजिक सञ्जालको दुरुपयोगका कारण मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर परिरहेको छ । अरूसँग निरन्तर तुलना गर्ने बानी, लाइक र फलोअर्सको पछि लाग्ने प्रवृत्ति, अनावश्यक आलोचना र ट्रोलिङले युवाहरूमा तनाव, आत्मविश्वासको कमी र आक्रोश बढाइरहेको छ । वास्तविक जीवनका चुनौतीहरू सामना गर्नुपर्ने उमेरमा युवा पुस्ता भर्चुअल संसारमै सीमित हुन थालेको देखिन्छ ।
तर सामाजिक सञ्जाल पूर्ण रूपमा नकारात्मक मात्र होइन। यसको सही प्रयोगले अपार सम्भावना बोकेको छ । समाधानको पहिलो आधार डिजिटल साक्षरता हो । युवाहरूलाई सामाजिक सञ्जालमा देखिने सबै कुरा सत्य नहुन सक्छ भन्ने चेतना दिनु आवश्यक छ । विद्यालय, कलेज र समुदायस्तरमै तथ्य जाँच गर्ने बानी, आलोचनात्मक सोच र जिम्मेवार अभिव्यक्तिबारे शिक्षा दिनुपर्छ । राज्यले पनि भ्रामक सूचना र साइबर दुरुपयोग रोक्न कानुनी तथा प्राविधिक संयन्त्रलाई प्रभावकारी बनाउनुपर्छ ।

दोस्रो, एआइ र प्रविधिलाई सिर्जनात्मक र उत्पादनमुखी क्षेत्रमा प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्यमशीलतामा एआइ प्रयोग गरेर नेपालमै अवसर सिर्जना गर्न सकिन्छ । युवाहरूलाई सामाजिक सञ्जालमार्फत सीप सिक्ने, आफ्ना उत्पादन प्रवद्र्धन गर्ने, सकारात्मक अभियान चलाउने र ज्ञान बाँड्ने दिशामा अभिप्रेरित गर्नुपर्छ ।
तेस्रो, परिवार र समाजको भूमिका पनि महत्वपूर्ण छ । अभिभावकले निषेध मात्र होइन, सही मार्गदर्शन गर्नुपर्छ । युवाको कुरा सुन्ने, उनीहरूलाई विश्वास गर्ने र जिम्मेवारी दिन सके सामाजिक सञ्जालको सदुपयोग सम्भव हुन्छ । सकारात्मक सामग्री सिर्जना गर्नेहरूलाई प्रोत्साहन र सम्मान गर्ने संस्कार विकास गर्न जरुरी छ ।
सामाजिक सञ्जाल सही हातमा परे शक्तिशाली औजार हो, गलत हातमा परे समाज विघटन गर्ने अस्त्र । त्यसैले आवश्यकता सन्तुलन, विवेक र उत्तरदायित्वको हो । युवा पुस्ताले सामाजिक सञ्जाललाई मनोरञ्जनको साधन मात्र नभई ज्ञान, अवसर र सकारात्मक परिवर्तनको माध्यम बनाउन सके नेपालले पनि प्रविधियुगको फाइदा लिन सक्छ ।
चेतनशील व्यक्तिहरूको लेखन, सोच र पहलले युवालाई सही दिशा दिन सक्छ। सामाजिक सञ्जालको आलोचना मात्र होइन, यसको समाधान र सदुपयोगको मार्ग देखाउनु आजको आवश्यकता हो । सचेत युवा, जिम्मेवार सामाजिक सञ्जाल र सिर्जनात्मक प्रविधि नै समृद्ध समाजको आधार बन्न सक्छ ।